पशुपति शर्माको गीतमा सांसदद्वय सिंह र रावलबीच संसदमै जुहारी 



काठमाडौं :  प्रतिनिधिसभाको सोमबार बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच घोचपेच र आरोपप्रत्यारोप भएको छ ।

यसपटकको घोचपेच कुनै विकास निर्माण वा राजनीतिक विषयमा भने भएको होइन । गायक पशुपति शर्माले गाएका ‘लुट्नसके लुट कान्छा’ भन्ने गीतमा कांग्रेसका सांसद डा. अमरेशकुमार सिंह र नेकपाका सांसद झपट रावलबीच आरोपप्रत्यारोप भएको हो । 

कांग्रेस सांसद सिंहले मुलुकको वर्तमान अवस्थालाई चित्रित गरी गायक शर्माले गीत बनाएका भन्दै २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।प्रतिनिधिसभाको शून्य समयमा सिंहले जनताको बोली गाउने शर्मालाई फागुन महिनाको तलबबाट २५हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै त्यसलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय निन्दनीय भएको बताए । गायक शर्मालाई नेकपाका भ्रातृ संगठनले विरोध गरेको र धम्की दिएकोप्रति लक्षित गर्दै उनले दुई तिहाईको दम्भमा सरकारले जथाभावी गरिरहेको आरोप लगाए । 

‘दुईतिहाई सरकारका अगाडि त्यस्तो गीत गाउन पाइन्छ, जनताको भावना व्यक्त गर्न पाइन्छ, त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ ,सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ जान्छ ?’, सिंहले भने–‘सरकारले वुद्धिजीवी र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्छ ।’

सांसद सिंहले यस्तो बोलेपछि नेकपाका सांसद रावलले अज्ञानताका कारण त्यस्तो गीत गाएका गायक शर्मालाई कसैले ध्रम्की नदिएको बताए । उनले सांसद सिंहलाई गीत गाउन चुनौति दिदै सिंहलाई नै पुरस्कार दिने घोषणा गरे । 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत शर्माले गाएका उदाहरण दिदै सांसद रावलले सिंहलाई भने–‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्