धनगढीलाई पराजित गर्दै रुपन्देही प्ले अफमा



कैलाली : धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुगेको छ ।

कुल १५ ओभरको खेलमा १०७ रनको लक्ष्य लिएर आएको धनगढी १४ ओभरमा ६६ रनमा अलआउट भयो । बिहानै फाप्ला क्रिकेट मैदानमा हुस्सु लागेपछि खेल निर्धारित समयभन्दा सवा एक घण्टा ढिलो भएको थियो । खेल ढिलो सुरु भएपछि २० ओभरबाट १५ ओभरमा झारिएको थियो ।

तेस्रो संस्करणको यस प्रतियोगितामा धनगढीले कुनै पनि जित निकाल्न सकेन । वर्षाले खेल रद्द भएपछि शनिबार धनगढीले महेन्द्रनगरसँग १/१ अंक बाँडेको थियो । रुपन्देहीले भने तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो । धनगढीको तर्फबाट पवन सर्राफले सर्वाधिक १५ रन बनाए ।

त्यस्तै कप्तान सोमपाल कामी ११ र सन्दीप रजाइलीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन् । बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारीले तीन तथा बिक्रम सोबले दुई विकेट लिए । बसन्त रेग्मी, पुनित मेहेरा र भीम सार्कीको नाममा १/१ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीको तर्फबाट सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी, बाबर हायत र बिक्रम सोबबाहेक अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन् । भण्डारी २४, हायत १९ र सोब ११ रनमा आउट भए ।

बलिङतर्फ धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफले २/२ विकेट लिए । अमिर हायत र रोहन मुस्तफाले १/१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्