महायज्ञका लागि वीरगञ्जमा शोभा यात्रा



वीरगन्ज :  वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञ सफल बनाउन भव्य शोभा यात्रा निकालिएको छ । अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगन्जका महिला समूहले महायज्ञ सफल बनाउने उदेश्यले सोमबार वीरगन्जमा शोभायात्रा निकालेका हुन । 

आर्दशनगरबाट निकालिएको शोभायात्रा माईस्थान, घण्टाघर चौक, पुनः माईस्थान, २ नम्बर रोड हँुदै लोहारपट्टी, गणेशमान चौक, बिर्ता, अलखिया मठ भएर आर्दशनगर चौकमा स्थापना गरिएको कार्यालयमा पुगेर समापन भएको थियो । 

शोभायात्रामा गायत्री परिवारका करिब तीनसय महिलाको सहभागिता रहेको थियो । सहभागी महिलाहरुले नेपाल आमाकी जय, सत्य सनातन धर्मकी जय, देव संस्कृतिकी जय लगायत धार्मिक नारा लगाउँदै नेपालमै पहिलोपटक हुन लागेको महायज्ञ सफल बनाउन नगरवासीलाई आहवान गरिएको थियो ।

शोभायात्रा समापनमा बोल्दै शान्तिकुज हरिद्वार भारतबाट आएकी ब्रहमवादणी टोलीकी नेतृ श्यामा राठौरले यज्ञले मानवलाई शान्ति एवं सद्भाव सिकाउने भएकोले यसमा सहभागिता जनाउन सबैमा आह्वान गर्दै यज्ञले समाजलाई उच्च मानवीय आदर्शका निमित्त अघि बढ्न प्रेरित गर्ने बताइन् । 

उनले परमार्थ, आत्मसंयम, दान, सद्भावना आदि मूल्यहरुलाई दैनिक जीवनमा आत्मसात गर्नु नै यज्ञको मुख्य उदेश्य रहेको बताइन् । अहंकारलाई त्याग गरी शरीर, मन तथा आत्मालाई ईश्वरीय सेवामा समर्पित गरिदिनु नै यज्ञ हो, उनले भनिन, शास्त्रले भगवानलाई यज्ञपुरुषको रुपमा परिभाषित गरेका छन, जसरी समिधा अग्निमा विलय भई अग्निमा रुपान्तरित हुन्छ त्यसरी नै यज्ञ गर्ने साधकको जीवन पनि यज्ञमय हुन्छ । 

यही फागुन १९ गतेदेखि २२ गतेसम्म वीरगन्जमा हुने महायज्ञमा करिब ६÷७ लाख श्रद्धालुहरुको सहभागिता हुनेछ । महायज्ञमा सहभागी हुनआउने विदेशीहरुलाई स्वागत गर्न भव्य तयारी भइरहेको शक्ति पीठका संयोजक एव वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए । राष्ट्रलाई सक्षम, सामथ्र्य एवं समृद्ध बनाउनका लागि पहिलोपटक नेपालमा अश्वमेध गायत्री महायज्ञको आयोजना गर्न लागिएकोले देश विदेश गरी करिब सातलाख श्रद्धालुको सहभागिता हुने अनुमान गरे । 

महायज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने पूर्णाहुति(समापन) प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित भईसकेको उनले बताए । दुई करोडभन्दा बढीको लागतमा हुन लागेको यज्ञमा सहभागी हुनेलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव संस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माणको तयारी भइरहेको छ । 

यज्ञमा दैनिक ६० हजार व्यक्ति हवन गर्न सक्नेगरी सम्पूर्ण व्यवस्था मिलाएको छ, उनले भने, यज्ञमा सहभागी हुन आउने भारतीय एवं अन्य देशबाट पाल्नुहुने पर्यटकका लागि निःशुल्क खाना र बस्ने सुविधा मिलाइएको छ । आध्यात्मिक ज्ञान दिन यज्ञ अवधिभर २० भन्दा बढी कार्यशाला गोष्ठीको आयोजना गरिने छ । ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशिक्षण समेत दिनुहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्