रौतहटमा थप ३५ जनामा कोरोना संक्रमित फेला



रौतहट : रौतहट जिल्लाको विभिन्न स्थानमा थप ३५ जना नयाँ कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

२८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् । त्यहाँ क्वारेन्टाइन नभएकाले उनीहरुलाई चन्द्रपुरमा राखिएको हो ।

त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शशि मोहन दासले जानकारी दिए ।

‘उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । सबैको स्वास्थ्य अवस्था समान्य छ,’ उनले भने, ‘संक्रमण देखिएकाहरुलाई कहाँको आइसोलेसनमा राख्ने भन्ने छलफल हुँदैछ ।’

यसअघि रौतहटमा मंगलबार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रौतहटमा अहिलेसम्म तीन जना निको भएका छन् ।

योसँगै रौतटहमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्