‘दर्पण छायाँ’ को सिक्वेल बन्दै



काठमाडौं :  सन् २००१ मा प्रदर्शनमा आएको सुपर डुपर हिट फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल बन्ने भएको छ । यस फिल्ममा निरुता सिंह, उत्तम प्रधान र दिलिप रायमाझीको अभिनय रहेको थियो । यी तीनै स्टार्सको करिअरका लागि यो फिल्म कोशेढुंगा साबित भएको थियो । यस फिल्मको निर्देशक तुलसी घिमिरे थिए ।  

अब यस फिल्मको सिक्वेल निर्माण हुने भएको छ । ‘दर्पण छायाँ’ फिल्म जहाँ अन्त्य भएको थियो, त्यहीबाट ‘दर्पण छायाँ’ को सिक्वेल सुरु हुने भएको छ । अहिले फिल्मको कथा नायक उत्तम प्रधानले लेखिरहेका छन् । फिल्मलाई ‘दर्पण छायाँ’ जोडी उत्तम, निरुता र दिलिपले निर्माण गर्ने भएका छन् । यो फिल्ममा यी तिनैले नै अभिनय गर्नेछन् । यो फिल्मलाई निर्देशन तुलसी घिमिरले गर्ने सम्भावना प्रबल रहेको छ ।

निरुता स्वयम्ले ‘दर्पण छायाँ’ को सिक्वेल बनाउन लागेको खुलासा गरेकी छिन् । उनले उत्तमको कन्सेप्टबाट आफू प्रभावित भएको र हाल कथामा काम भइरहेको जानकारी दिएकी छिन् । ‘दर्पण छायाँ’ मा निरुता, उत्तम र दिलिप कलेज विद्यार्थीको भूमिकामा थिए ।

निरुता र दिलिप नेपाली फिल्ममा सक्रिय भए पनि उत्तम भने काँचको पर्दाबाट हराएको धेरै वर्ष भइसकेको छ । उनले यसवर्ष प्रदर्शनमा आएको बलिउड नायिका प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ मा विशेष भूमिका निभाएका थिए । तर, लिड रोलमा उनले अभिनय गरेको नेपाली फिल्म भने दर्शकले हेर्न नपाएको लगभग एक दशक नै बितिसकेको छ ।

हालै नायक दिलिपले आफूलाई ‘दर्पण छायाँ’ जस्तै सुपरहिट फिल्म गर्ने मन भएको बताएका थिए । निरुता भने सधैं उत्तम र दिलिपलाई ‘मिस’ गरिरहने बताइरहेकी हुन्छिन् । अब दुई दशकपछि सर्वाधिक रुचाइएको ‘दर्पण छायाँ’ जोडीलाई फेरि पर्दामा हेर्न पाउनु दर्शकका लागि भने ठूलै सरप्राइज हुनेछ । उक्त फिल्मको अर्को वर्षको सुरुवातबाट छायांकन सुरु हुने भएको छ ।  

प्रतिक्रिया दिनुहोस्