अधिकारकर्मीले बुझाए स्थानीय तह प्रतिनिधिलाई ज्ञापनपत्र



ढल्केवर : दुतिया रसाइलीको हत्यारा यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न अधिकारकर्मी महिलाले स्थानीय तहका जनप्रतिनिधिलाई ध्यानाकर्षणपत्र बुझाएको छ । दुतिया हत्याको छेटौं दिन बितिसक्दा पनि हत्यारा पक्राउ नपरेकाले सोमबार धनुषाको मिथिला नगरपालिकाका उपप्रमुख ताराकुमारी बस्नेतलाई ध्यानाकर्षणपत्र बुझाइएको अधिकारकर्मी महिलाले जानकारी दिए ।

मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर निवासी देवनारायण रसाइलीको ११ वर्षीया छोरी दुतियाको शव फागुन २ गते घरनजिकैको उखुखेतमा शरीरको आधी भाग जलेको अवस्थामा फेला परेको थियो । अघिल्लो दिन गाउँमै भएको विवाहमा नाचगान हेर्न गएकी दुतियाको बलात्कारपछि हत्या गरेर अपराध लुकाउन आगो लगाई शव जलाइएको स्थानीयको भनाइ रहेको पत्रमा उल्लेख छ ।

पत्रमा घटनाको गहन अनुसन्धान र वास्तविक दोषीको पहिचान गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन जोडदार माग गरिएको छ । यस्ता अपराधिक घटना हुन नदिन तीनै तहका सरकारले बृहत् र प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्र्न ध्यानाकर्षणपत्रमा जनाइएको छ ।

ध्यानाकर्षणपत्र बुझाउनेमा ओरक नेपाल धनुषा, लैङ्गिक हिंसा न्यूनीकरण उपमहिला सञ्जाल, मिथिला उत्थान केन्द्र, समाज परिवर्तन नेपाल, दारी ग्याङ्ग समूह ढल्केवर थिए । 

प्रतिक्रिया दिनुहोस्