धनुषामा पक्राउ परे दुई पेसेवर डाँका



जनकपुरधाम : धनुषा प्रहरीले दुई पेसेवर डाँकालाई हातहितयारलगायत विभिन्न सामग्रीसहित पक्राउ गरेको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

माघ २५ मा जिल्लाको कमला नगरपालिका–१ मंगराहाका बह्मदेव यादव र वडा नं. ३ का रामचन्द्र मण्डलको घरमा डाँका समूहले हतियार देखाई लाखौं मूल्यबराबरको धनमाल लुटपाट गरेको थियो ।

घटनाको अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको संयुक्त विशेष टोलीले विदेह नगरपालिका–४ ठाडीझिजाका सुरेश पासवानका छोरा सोमन पासवान र मुखी पासवानका छोरा रञ्जित भन्ने अरुणकुमार पासवानलाई पक्राउ गरेको थियो ।

ठाडीझिजाको एक घरमा ७÷८ जनाको समूहमा डाँकाहरू लुकेर बसेको खबर पाएको आधारमा प्रहरीले शनिबार राति करीब डेढ बजे छापा हान्दा केही भाग्न सफल भए भने सोमन र रञ्जित पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक शेखर रेगमीले बताए ।

तिनीहरूका साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, त्यसमा लोड हुने गोली २ राउन्ड, डाँकामा प्रयोग गरिने हथौडा, छेनी, कैची, पेचकसलगायत सामग्री, ३ थान क्यामरा, केही लागूऔषध र नगद ९ हजार ९ सय २५ रुपैयाँ बरामद गरिएको जानकारी प्रहरीले दिएको छ । 

ती डाँकाहरू सिरहा, सप्तरी, सर्लाही, महोत्तरी र भारतीय सीमापारिका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए । पक्राउ परेकामध्ये रञ्जित २०७० सालमा जिल्लाको बनिनियाँस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमको कार्यालयमा समेत डकैती गरेको अनुसन्धानमा देखिएको उहाँले जानकारी दिए ।

डाँका समूहले बह्मदेवको घरबाट ३ लाख १२ हजार र रामचन्द्रको घरबाट एक लाख ६७ हजार रुपैयाँबराबरको धनमाल लुटेको थियो । पक्राउ परेका डाँकाविरुद्ध हातहतियार खरखजाना, लागूऔषध तथा डाँका मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

सोही राति करीब साढे ९ बजे प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२० देउपुरारूपैठा निवासी ३२ वर्षीय इसराफुल खानलाई एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्