भारत जानेको तथ्यांक राख्न सीमामा कक्ष खोलियो



कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्कालीन  समयमा आफू भारतबाट नेपाल आउँदा सीमानाकामा पुरानो रेडियोसमेत ल्याउन नदिएको दुखेसो पोखेका छन् । 

सोमबार कैलालीको त्रिनगर सीमानाकामा नागरिक सहायताकक्ष उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन् । धनगढी उपमहानगरपालिका–२ को मोहना पुलनजिकै रहेको थ्रि एन्जल नेपालको भवनमा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सोमबार सहायताकक्षको उद्घाटन गरिएको छ । 

उनले सीमाक्षेत्रमा नेपालीहरूले आवतजावत गर्दा निकै दुःख पाउने गरेको बताए । उनले उक्त समस्याको चाँडै समाधान हुने आश्वासनसमेत दिए । नेपालबाट रोजगारीका लागि भारत जाने नेपालीको तथ्यांक कुनै निकायसँग नरहेको भन्दै तथ्यांक राख्नकै लागि भए पनि सीमाक्षेत्रमा सहायताकक्ष स्थापना गरिएको मुख्यमन्त्री भट्टको दाबी छ । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सहायताकक्षमा चाँडै अनलाइन प्रविधिमार्फत तथ्यांक संकलन गरिने बताए । नागरिकको सुरक्षा निगरानी र सीमानाकामा हुने असहजता अन्त्य गर्नका लागि सहायताकक्ष खोलिएको मन्त्री शाहको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्