प्रतियोगिताको सघन तयारीमा जुट्यो विराटनगर



विराटनगर : पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि विराटनगरमा तयारी तीव्र पारिएको छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा सरोकारवाला निकाय पनि तातेका छन् ।

यस प्रतियोगिताबाट हालसम्म उपाधिविहीन बनेको नेपालमा महिला साफ पहिलोपटक आयोजना हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपटक अन्तर्राराष्ट्रिय स्तरको प्रतियोगिता आयोजनाको जिम्मा मोफसललाई दिएपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा तयारी तीव्र पारिएको हो । 

नेपालमा पहिलोपटक आयोजना हुने पाँचौं संस्करणको महिला साफ च्याम्यिनसिपलाई ऐतिहासिक सहर विराटनगरको गौरवसँग जोडेर हेरिएको छ । विराटनगरको सहिद रंगशालामा फागुन २८ देखि चैत ८ गतेसम्म प्रतियोगिता हुने भएपछि तयारीलाई तीव्रता दिइएको एन्फाले जनाएको छ । 

एन्फाका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता तयारी समितिका संयोजक पंकज नेम्वाङले प्रतियोगिता आयोजनमा कुनै पनि कमजोरी हुन नदिने हिसाबमा तयारीका सबै कामलाई अगाडि बढाइएको जानकारी दिए । उनले विराटनगरको मात्रै नभएर सिंगो नेपालको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय भएकाले पनि सबै पक्षको सहयोग आवश्यक पर्ने बताए ।

नेम्वाङले आयोजनालाई एउटा अवसरका रूपमा लिइएको बताए । उनले मैदानदेखि लिएर खेलाडी, अफिसियल, पाहुना र अतिथिका लागि होटेल बुकिङ, सडक र अन्य संरचना निर्माणलाई तीव्र पार्दै पाहुनाको स्वागतसत्कारका लागि अहिलेसम्म भएका तयारीबाट  एन्फा सन्तुष्ट रहेको जानकारी दिए ।  

नेम्वाङले च्याम्पियनसिपलाई सभ्य र भव्य बनाउनका लागि कुनै कसर बाँकी नराखिने जनाउँदै सबैलाई सहयोगका लागि आग्रह गरे । चारपटक भारतले उपाधि हात पारेको च्याम्पियनसिपमा नेपाली टोली तीनपटक उपविजेतामा सीमित बन्यो । घरेलु मैदानमै भएका कारण यसपटक भने उपाधिको अपेक्षा गरिएको छ । 

‘यस प्रतियोगितालाई हामीले ठूलो अवसरका रूपमा लिएका छौं,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने, ‘विराटनगर र सिंगो नेपालको उचाइ बढाउने हिसाबमा प्रतियोगिता सम्पन्न गर्नुपर्ने दायित्व छ ।’ पराजुलीले नजिकिँदो साफलाई लक्षित गर्दै महानगरले रगंशाला परिसरमा पर्ने सडक निर्माण कार्यलाई पनि तीव्र पारेको बताए । यसकै लागि महानगरपालिकाले करिब १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरिसकेको छ । उक्त रकम महानगरपालिकाले मैदानसँगै भौतिक पूर्वाधार निर्माण तथा स्टेडियमको रङरोगनमा खर्चिने तयारी छ । 

सहिद रंगशालाको मैदानलाई समथर बनाउने काम सकिएसँगै हरियो घाँस उमार्ने कार्य भइरहेको मैदान व्यवस्थापन उपसमितिका सदस्य मधुसूदन खनालले बताए । मैदानमा देखिएका कमीकमजोरीलाई हटाएर निर्धारित समयभित्रै मैदान स्तरीय बनाइएको उनले बताए । खनालका अनुसार मैदानमा देखिएका गहिरो स्थानमा माटो भर्ने र मैदानको उच्च भूभागबाट माटो निकालेर सम्याउने कार्य सकिएको छ । मैदान व्यवस्थापन उपसमितिले प्रतियोगिता सुरु हुनुभन्दा कम्तीमा १५ दिनअगावै मैदान तयार गरिसक्नुपर्ने समय पाएको थियो । 

मैदानबाट पूर्वतर्फ साफकै लागि दुईतले भवन निर्माण भइरहेको छ । खेलाडी, रेफ्री तथा सञ्चारमाध्यमका लागि त्यही भवनको व्यवस्था गरिने जनाइएको छ । प्रतियोगिताका विराटनगरमा सचिवालयसमेत स्थापना गरिएको छ । प्रतियोगितामा कुनै पनि त्रुटि नहोस् भन्नका लागि एन्फा र जिल्ला फुटबल संघ मोरङ तथा सरोकारवाला निकाय सचेत रहेको एन्फाका सहमहासचिव वसन्त अर्यालको भनाइ छ । उनका अनुसार प्रतियोगितामा तीन सयभन्दा बढी अन्तर्राष्ट्रिय अफिसिलयको सहभागिता रहनेछ । 

साफ च्याम्पियनसिप प्रचारप्रसार समितिका संयोजक एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले साफलक्षित प्रचारप्रसारको काम पनि सुरु गरिएको जानकारी दिँदै भने, ‘नेपालमा मात्रै नभई भारतका विभिन्न स्थानमा समेत प्रतियोगिताबारे प्रचारप्रसार गरिनेछ ।’ उनका अनुसार भारतीय दर्शक पनि भित्र्याउनका लागि भारतका जोगबनी, बिहार, सिलिगुडी, सिक्किमसम्म यसको प्रचारप्रसार गरिनेछ । सबै तहका सरकारसँग समन्वय गरेर प्रचारप्रसार तीव्र पारिने उनले बताए । राईका अनुसार प्रतियोगिता सुरु हुनअघि नै सुनसरीको कोसी गाउँपालिकादेखि मेचीनगरसम्म स्वागतद्वार निर्माण गरिनेछ । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिता सम्पन्न गर्नका लागि प्रदेश सरकारले पूर्ण सहयोग गर्ने जनाए । प्रतियोगितामा सहभागिता जनाउनेमध्ये समूह ‘ए’ मा नेपालसँगै बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । 

प्रतिक्रिया दिनुहोस्