डिपिएलबाट बाहिरियो विराटनगर किंग्स



कैलाली : धनगढी प्रिमियर लिग (डिपिएल) को सोमबार भएको निकै महत्वपूर्ण खेलमा सिवाइसी अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गरेको छ । यो हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि धनगढी स्टार्स पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

यता जित हासिल गरेको सिवाइसी अत्तरियाले पनि प्लेअफमा स्थान पक्का गरेको छ । अत्तरियाको आजको जितले महेन्द्रनगर युनाइटेड पनि प्लेअफमा स्थान बनाउने अर्को टिम बनेको छ ।

अब सिवाइसी अत्तरियाले भोलि हुने लिग चरणको अन्तिम खेलमा काठमाडौंको सामाना गर्नेछ । १ सय ४९ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ्ग गरेको विराटनगर किंग्सले २० ओवर पूरै खेले पनि ८ विकेट गुमाएर १ सय ३८ रनमा सीमित भएपछि नतिजा अत्तरियाले आफ्नो पक्षमा पारेको हो ।

ठूलो लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ्ग गरेको विराटनगरले आफ्नो पहिलो विकेटका रूपमा टिमको स्कोर १४ रन हुँदा ओपनर ब्याट्सम्यान अर्साद उल्ला खान पठानलाई व्यक्तिगत १३ रनमा गुमाएको थियो । यसपछि हरिशंकर साहलाई टिमले ७ रनमा गुमाएको थियो । साह आउट भएपछि राजेश पुलामी मगर लगत्तै आउट हुन पुगे । उनी शून्य रनमा पभेलियन फर्किँदा आसिपÞm शेखले भने टिमका लागि ३९ रनको योगदान गरे ।

यस्तै पृथु बाँस्कोटा २३ रनमा दीपेन्द्र रावतको बलमा एल्बुडब्लुको सिकार हुन पुगेपछि टिम दबाबमा आएको थियो । यसपछि टिमका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा टिम पराजित हुन पुगेको हो । बलिङ्गतर्फ अत्तरियाका लागि दीपेन्द्र रावत र भुवन कार्कीले समान ३ र ३ विकेट चटकाए भने कप्तान दीपेन्द्रसिंह एरीले पनि समान १ विकेट लिन सफल भए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुरुमा अत्तरियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओवर पूरै खेलेर मात्र ३ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो ।

जयकिशन कोल्सावाला र शनि पटेलको विस्फोटक ब्याटिङको मद्दतमा अत्तरियाले यो स्कोरतर्फ पुगेको हो । दुवै अविजित रहेका कोल्सावालाले ५१ रन बनाए भने शनिले ६१ रनको योगदान गरे ।

३१ बलको सामना गरेका शनिले ५ चौका र ४ छक्का प्रहार गर्दै उत्कृष्ट आक्रामक ब्याटिङ गरे । यस्तै अत्तरियाका लागि जितेन्द्रसिंह ठकुरीले १३ रन, कप्तान दीपेन्द्र सिंह एरीले १० रन बनाएका थिए बलिङतर्फ विराटनगरका लागि सुशन भारी र सम्साद शेखले समान १ र १ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्