कम्युनिस्ट सरकारको कार्यकालमा बढे भ्रष्टाचार र अपराध : निधि



जनकपुरधाम : कम्युनिस्ट सरकारको कार्यकालमा भ्रष्टाचार र आपराधिक घटना बढेको नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले आरोप लगाएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ को शपथग्रहण कार्यक्रमलाई सोमबार जनकपुरमा सम्बोधन गर्दै निधिले विभिन्न भ्रष्टाचार र आपराधिक घटनाको चर्चा गर्दै अहिलेको कम्युनिस्टहरूको सरकारको एक वर्षको कार्यकालमा इतिहासमै सबैभन्दा बढी भएको आरोप लगाए ।

उनले कम्युनिस्ट सरकारले दुईतिहाइको दम्भ देखाउँदै सबै क्षेत्रमा भय र त्रासको अवस्था सिर्जना उत्पन्न गरेको भन्दै कर्मचारीलाई आतंकित नभई आफ्नो अधिकारक्षेत्रभित्र रहेर जनताको सेवा तदारुकताका साथ गर्न आग्रह गरे ।

उपसभापति निधिले केपी ओली नेतृत्वको सरकारले पञ्चायती सरकारझैं भेदभाव, आतंक र त्रासको वातावरण सिर्जना गरिरहेको भन्दै पञ्चायती सरकारलाई कर्मचारीले ध्वस्त पारिदिएझैं अहिलेको सरकारलाई पनि कर्मचारीले त्यही दिन ल्याइदिने चेतावनी दिए । 

राजनीतिक र वैचारिक आस्थाका आधारमा केन्द्र र प्रदेश २ दुवै सरकारले तर्साउने काम बन्द नगरे कर्मचारीहरू सडकमा आन्दोलन गर्न बाध्य हुने उनले बताए । उनले भने, ‘हामीले सरकारलाई एक वर्षको समय दिएर आराम गरिरहेका थियौं तर सरकारले जनताका हितमा काम नगरी हामीलाई खोचार्ने काममात्र गर्यो ।’ उानले आफूहरूको चुप्पीलाई कमजोरी नठान्न भन्दै सरकारको गलत त्रियाकलापविरुद्ध आन्दोलनमा उत्र्ने बताए ।

नेपाली स्वास्थ्यकर्मी संघ प्रदेश २ का अध्यक्ष शिवजी दासको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री महेन्द्रप्रसाद यादव, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायत वक्ताले पनि आआफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

भदौ ३१ मा स्वास्थ्यकर्मी संघको सम्पन्न प्रदेश अधिवेशनबाट शिवजी दासको नेतृत्वमा निर्वाचित पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस्