उपमहानगरमा क्वारेन्टाइनको क्षमता बढाउन माग गर्दै वडाध्यक्षहरुद्वारा जिससमा ज्ञापन



जनकपुरधाम: नगरभित्र क्वारेन्टाइनको अभाव भएपछि जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले प्रत्येक वडामा क्वारेन्टाइन स्थापनाको माग गर्दै जिल्ला समन्वय समितिमा ३ सुत्रिय माग सहित ज्ञापनपत्र बुझाएका छन् ।

उपमहानगरका प्रमुख लालकिशोर साहले नगरवासीप्रतिको जिम्मेवारी निर्वाह नगरेको आरोप लगाउँदै वडाध्यक्षहरुले नगरको २५ वटै वडामा क्वारेन्टाइन स्थापना गर्नुपर्ने भन्दै जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

वडाध्यक्षहरुले संयूक्तरुपमा बुझाएको ज्ञापानपत्रमा ५ सय श्ययाको क्वारेन्टाइन स्थापना गर्नुपर्ने वा प्रत्येक वडामा क्वारेन्टाइन स्थापना तत्कालै गर्नुपर्ने, जनकपुरधाम उपमहानगरवासीका लागि एक थान रियल टाइम पिसिआर मेसिन जडान गर्नुपर्ने र जटही नाका हुँदै पालिका भित्र आउनेहरुलाई भोजन र यातायातको व्यवस्था अनिवार्यरुपमा गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै वडा नं.७ का वडाध्यक्ष जानकीराम साहले भने,’जनकपुरधाममा पिसिआर मेसिन पटक पटक बिग्रिनु, चेकजाँच व्यवस्थित रुपमा तिव्र गतिमा नहुनु र कुनैपनि किसिमको सुविधा सहितको व्यवस्था नरेहकाले हामीले बाध्यात्मक अवस्थामा ज्ञापनपत्र बुझाएका हौं ।’
उनले ज्ञापनपत्र मार्फतका मागहरुमाथि तत्कालै सम्बोधन नगरिए उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवारी स्वयम् नगर प्रमुख तथा सरोकारवालाले लिनुपर्ने चेतावनी समेत दिए ।

त्यस्तै वडा न.९ का वडाध्यक्ष परमेश्वर साहले जनकपुरधाम नगरमा पनि भारतमा अध्ययन गर्दै आईरहेका छात्र छात्रा, मजदुरी लगायतका कार्यहरु गर्न गएकाहरु लामो समयको लकडाउनका कारण घर फर्किरहेको र त्यसको व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । उनले उनीहरुलाई संघिय सरकारको प्रवाधान अनुसार क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाँचको व्यवस्था गर्न माग गरे ।

जनकपुरधाम नगरमा आवश्यकता अनुसारको सुविधासम्पन्न क्वारेन्टाइनको अभाव रहेको र उपलब्ध रहेका क्वारेन्टाइन पनि अव्यवस्थित रहेकोले तत्काल क्वारेन्टाइन स्थापनाका लागि दवाब दिने उद्देश्यले ज्ञापनपत्र बुझाइएको वडा नम्बर(३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए ।
वडाध्यक्षहरुले मेयर साहलाई आफुहरुले बारम्बर मौखिक तथा डेलिगेसन मार्फत पनि गुनासो र जानकारी गराउँदा समेत प्रमुख साहले कार्यपालिका बोर्डको बैठक समेत नबसाई मनोमानी तरिकाले काम गरिरहेको आरोप समेत लगाए ।

ज्ञापनपत्र बुझ्दै जिसस धनुषाका प्रमुख रामदेव बनरैत यादवले वडाध्यक्षहरुको मागप्रति आफु गम्भिर रहेको बताउँदै यसका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनकपुरधाम उपमहानगरपालिकाका १८ जना वडाध्यक्षहरुको हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा प्रदेश २ सरकार, जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई समेत बोद्धार्थ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्