स्वच्छ पानी पिउने भए कटहरीवासी 



विराटनगर : मोरङको कटहरी गाउँपालिकाका बासिन्दाले अब स्वच्छ पिउने पानी उपभोग गर्न पाएका छन् । स्थानीयको सक्रियतामा कटहरी–२ मा कटहरी खानेपानी आयोजना सञ्चालन भएपछि अहिले गाउँमा खानेपानीको समस्या समाधान भएको छ ।

पाँच कट्ठा क्षेत्रफलमा २ लाख २५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरेर अहिले यहाँका ७ सय ४८ घरपरिवारले स्वच्छ खानेपानी पिउँदै आएको कटहरी खानेपानी आयोजना तथा सरसफाइ मूल उपभोक्ता समितिका सचिव देवराज चौधरीले जानकारी दिए ।

‘कटहरीको पूरै वडामा पाइपलाइन विस्तार गरी अहिले सबैका घरमा खानेपानीको धारा जडान भएको छ,’ चौधरीले भने, ‘अहिले उपभोक्ता समिति गठन गरेर कटहरीका घरघरमा स्वच्छ खानेपानी पु¥याउने काम गर्दै आएका छौं ।’ उनले आयोजना सञ्चालनसँगै गाउँमा लामो समयदेखि रहेको खानेपानी समस्या टरेको बताए । 

चार महिनासम्म स्थानीयलाई निःशुल्क खानेपानी वितरण गर्दै आए पनि अहिले उपभोक्ता समितिले शुल्क निर्धारण गरेर स्वच्छ पिउने पानी दिँदै आएको हो । दुईवटा बोरिङ्गले दैनिक ८ लाख लिटर पानी निकाल्ने गरिएको खानेपानी आयोजनाबाट साढे सात लाख लिटर पानी खपत हुँदै आएको सचिव चौधरीले जानकारी दिए । ४ सय ८० फिट गहिराइबाट पानी निकाली उपभोक्तालाई वितरण गरिँदै आएको छ ।  

कटहरी–२ का दिलिप अधिकारीले खानेपानी आयोजना सञ्चालनमा आएपछि गाउँमा पानी अभाव हटेको बताए । ‘यस गाउँमा पानी अभाव थियो । ट्युबवेलको आर्सेनिकयुक्त पानी खानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘खानेपानी आयोजना सञ्चालनमा आएपछि ट्युबवेलको पानी पिउन छोडेका छौं । पानीको अभाव पनि हटेर गयो ।’ 

समितिका अध्यक्ष विद्यानन्द चौधरीले समितिले तोकिदिएको शुल्क बुझाएपछि उपभोक्ताले खानेपानीको सदस्य बन्न पाउने जानकारी दिए । उनका अनुसार नयाँ सदस्य बन्ने ग्राहकबाट अहिले २ हजार रुपैयाँ र १ हजार ३ सय रुपैयाँ धारा जडान खर्च लिने गरिएको छ ।

आयोजनाको पानी उपभोग गर्ने उपभोक्ताको संख्यामा वृद्धि हुन थालेपछि कटहरी–२ आदर्शटोलमा १ थान ओभरहेड ट्यांकी निर्माण गर्ने तयारी समितिले गरेको छ । ‘गाउँपालिकाभरिका उपभोक्तालाई लाभान्वित बनाउन पानीको उपलब्धतालाई थप विस्तार गर्ने तयारी गरिएको छ,’ अध्यक्ष चौधरीले भने, ‘ओभरहेड ट्यांकी, पाइपलाइन विस्तार र ट्रिटमेन्ट प्लान्ट जडान गर्ने कार्य अन्तिम चरणमा पुर्याएका छौं ।’

प्रतिक्रिया दिनुहोस्