१५ जना थपिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो



सुर्खेतः कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बुुधबार सुर्खेतमा रहेको प्रयोगशालमा पीसीआर परीक्षण गर्दा १० जना पुरुष र पाँच जना महिलामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको हो ।

संक्रमण पुष्टि भएकाहरु केही दिनअघि भारतबाट आएका हुन् । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार वीरेन्द्रनगर नगरपालिकाका १० जना, चौकुने गाउँपालिकाका २ जना, बझाङका १जना र ठेगाना नखुलेका एक जनामा कोरोना संक्रमण भएको हो ।

उनीहरुको सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको महाशाखाले जनाएको छ । बुधबार १५ जनामा कोरोना संक्रमण भएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

यसअघि सुर्खेतमा १५ र दैलेखमा आठ जनालाई कोरोना संक्रमण भएको थियो । ३८ जनाकै सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । रोजगारीका लागि भारतबाट फर्किनेको सख्या बढेपछि कर्णालीमा कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।

प्रदेश सरकारले संघीय सरकारसँग भारतबाट फर्किने नागरिकको उद्धार तथा क्वरेन्टीनको व्यवस्थापनमा नेपाली सेनालाई खटाउन स्वीकृति मागेको छ । जेठको आधासम्म प्रदेशमा करिब १३ हजार पाँच सय नागरिक भारतबाट फर्किएका छन् । प्रदेश सरकारले ३० हजारको हाराहारीमा भारतबाट फर्किने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्