नेकपा सचिवालय बैठक बिनानिर्णय स्थगित



काठमाडौ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्यदलसँग छलफल गरेर पार्टी एकीकरणको प्रस्तावमा टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एकीकरणको बाँकी कामको गृहकार्य गर्न गठित नौ सदस्यीय कार्यदलसँग छलफल गरेर प्रस्तावमाथि निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

छलफलका लागि ९ फागुनमा बस्ने सचिवालय बैठकमा कार्यदलका सदस्यहरूलाई आमन्त्रण गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘कार्यदलका सदस्यहरूसहितको संयुक्त छलफलपछि एकीकरण प्रक्रिया कसरी टुंग्याउने भन्ने विषयमा आवश्यक निर्णय गरिनेछ,’ श्रेष्ठले भने । बैठकमा स्थायी समितिद्वारा सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्न गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको थियो ।

गत १२ पुसमा गठित कार्यदललाई १५ दिनभित्र काम सकेर प्रतिवेदन बुझाउन अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ले संयुक्त निर्देशन दिए पनि सचिवालय बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादलले अपुरो प्रतिवेदन पेस गरेका छन् । विधानबाहेकका विषयमा विवाद भएपछि कार्यदलले थप छलफलका लागि बढीमा एक साता समय माग गर्दै प्रतिवेदन बुझाएको छ । कार्यदलले समय माग गरेकाले त्यसअनुसार पुनः जिम्मेवारी दिने कि अध्यक्षद्वयले वरिष्ठ नेताहरूसमेतको परामर्श र गृहकार्य गरेर सचिवालयबाटै प्रस्तावको टुंगो लगाउने सचिवालयले नै निर्णय गर्नेछ । 

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी समितिबाट गठित कार्यदलले अपूरो प्रतिवेदन पेस गरेकाले सबैको धारणा नसुनेसम्म कार्यदललाई विघटन गर्न नहुने धारणा राखेका थिए । विधि र प्रक्रियाका हिसाबले स्थायी समितिबाट गठित कार्यदललाई विघटन गर्ने या निष्क्रिय गर्न नमिल्ने उनीहरूको धारणा थियो । यो खबर नयाँ पत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस्