पाटन अस्पतालमा नियमित सेवाका बिरामी बढ्दै



काठमाडौंः कोभिड-१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको संख्या बढिरहेको छ ।

बन्दाबन्दीको पहिलो केही सातासम्म दैनिक झण्डै १५० जना उपचारका लागि आएकामा अहिले त्यो संख््या तीनदेखि चार सय पुगेको छ ।

बन्दाबन्दीको दुई महिना बित्दा नियमित सेवाका लागि आउने बिरामी बढिरहेको अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बतए । काठमाडौं उपत्यकामा बिरामीको चाप उच्च रहने अस्पतालमध्ये यो पनि एक हो । सामान्य अवस्थामा दैनिक झण्डै दुई हजार बिरामी आउँछन् ।

उनले भने, “लकडाउन लम्बिरहँदा नियमित सेवाका सबै खालका बिरामी बढिरहेको छ ।”
अस्पतालमा प्रसूति सेवा र गर्भवती नियमित जाँचका लागि आउनेको संख्या बढिरहेको छ । बन्दाबन्दीको शुरुका दिनदेखि नै अस्पताल आउने गर्भवतीको जाँच गरिरहेको छ । अहिले दैनिक सातदेखि १२ महिलाले सन्तानलाई जन्म दिइरहेका छन् । यो संख्या सामान्य अवस्थाकै हाराहारीमा भएको अस्पतालले जनाएको छ ।

अस्पतालले बन्दाबन्दीको शुरुदेखि नै कोभिड-१९ का संक्रमितको उपचारसँगै नियमित सेवाका लागि आउने बिरामीको उपचार गरिरहेको छ । अस्पतालले कोभिड-१९ का सम्भावित बिरामीलाई ‘आइसोलेशन श्यया’ मा राखेर उपचार गरिरहेको छ । बन्दाबन्दीका कारण बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले केही संख्या घटे पनि अहिले पुनः बढिरहेको निर्देशक शर्माले बताए ।

उनले भने, “बिरामीको सङ्ख्या सामान्य अवस्थाभन्दा कम भए पनि सबै खालका बिरामी आइरहेका छन् ।” अस्पतालले संक्रमित व्यक्तिलाई उसको अवस्था अनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेशन वार्ड) छ । त्यही बिरामीको परीक्षण हुन्छ । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालमा छुट्टै १५ श्ययाको व्यवस्था छ ।

पहिले पिसिआर प्रविधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएकामा अहिले अस्पतालमै परीक्षण हुन्छ । अस्पतालमा २० वटा सघन उपचार कक्ष छन् । कतिपय श्ययामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड-१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी छ ।

तत्काललाई अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताए । भविष्यमा महामारीकै अवस्था आउँदा अपर्याप्त हुनसक्ने भए पनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । जिल्लामा रहेका अस्पतालले उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उनले बताए ।अस्पतालले कोभिड-१९ का संक्रमित आउनु पहिलेदेखि नै आवश्यक तयारी गरिरहेको

थियो । अहिले पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) बनाउने, अस्पताल हातामा निसंक्रमित गर्ने, गेटबाट नै स्वास्थ्य परीक्षणलगायतका काम गरिरहेको छ । अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि आफैँले पिपिइ बनाइरहेको छ ।

यहाँ उत्पादित पिपिइमध्ये धेरै प्रयोग भइरहेको र कतिपय आगामी दिनमा प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । ‘पिपिइ’ अभावको अवस्था आउन नदिन अस्पतालले आफै निर्माण शुरु गरेको निर्देशक डा.शर्माले बताए । अस्पतालमा अहिले संक्रमित ९ र छ जना आइसोलेशनमा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग र पाटन अस्पतालले समन्वयमा बिरामी उपचार गर्दै आएको छ । केही दिन पहिलेमात्रै यस अस्पतालमा एक कोभिड-१९ संक्रमितको शल्यक्रियासमेत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्