शहीद स्मारकमा प्रजातान्त्रिक पार्क निर्माण



हेटौंडा :   विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौंडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल शहीद स्मारकमा प्रजातान्त्रिक पार्क निर्माण भएको छ ।

उक्त पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक निर्माण गरिएको छ । शहीद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको हो ।

चारैजना प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको शालिक निर्माण सम्पन्न भइसकेको बताउँदै समितिका कार्यालय सचिव रामचन्द्र न्यौपानेले शालिक अनावरणको तयारी भइरहेको बताए । 

‘राष्ट्रका प्रमुख व्यक्तित्वहरुबाट शालिक अनावरण गराउने तयारी भएकाले समय मिलाउने काम भइरहेको छ’, न्यौपानेले भने । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका शीर्ष नेताहरुबाटै शालिक अनावरण कार्यक्रम सम्पन्न हुने गरी केही समयभित्रै प्रजातान्त्रिक पार्क उद्घाटन गरिने उनले बताए । 

यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण शहीदलाई एकै थलोमा स्मरण गर्न शहीद स्मृति स्तम्भ निर्माण गरिएको थियो । १९ मिटर डाइको गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ ।

स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसंघर्षमा शहीद भएका १२ सहिदको एउटै ढुंगामा शहीदको मुखाकृत कुदिएको छ । 

स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुंगामा कलात्मक ढंगले कुदिएको सालिकले बिभिन्न खालखण्डको संस्मरण गराउछ । पार्कमै जननेता मदन भण्डारीको शालिक पनि निर्माण गरिएको छ । यो खबर अन्नपूर्णपोस्टमा छ । 

प्रतिक्रिया दिनुहोस्