प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि



जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसअन्र्तगत रौतहट जिल्लामा ३५ जना, बारा जिल्लामा ८ जना, सप्तरी जिल्लामा ११ जना र सिरहा जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ र ८ का क्रमशः २१ बर्षिय र ३५ बर्षिय पुरुष, सोही जिल्लास्थित गौर नगरपालिकामा रहेको जुद्धोदय माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेको ८ जना पुरुष,कठहरिया नगरपालिका वडा नम्वर ३ का ३६ र ३७ बर्षिय पुरुष,इशनाथ नगरपालिकाको जोकाहास्थित मस्तिजमा निर्माण गरिएको क्वारन्टाईनमा रहेका बर्ष १३ र ३५ का पुरुष तथा सोही नगरपालिकाको जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १७ बर्ष, १९ बर्ष र २० बर्षिय ३ जना पुरुष तथा २१, २२, २४, २७, ३४, ३८, ३५, ४८ र ५० बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । रौतहट जिल्लामा संक्रमण पुष्टि भएका व्यक्तिहरु छिमेकी मुलुक भारतका विभिन्न स्थलहरुबाट नेपाल आएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्वर १ मा रहेको क्वारेन्टाईनमा गरिएको स्वाव संकलनको परिक्षण पश्चात १ महिला र ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसअनुसार रौतहट जिल्ला घर भई बारा जिल्लामा बस्दै आएकी ५२ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यसैगरी पचरौता नगरपालिका वडा नम्वर १ को क्वारेन्टाईनमा रहेका क्रमश ः २२, २९, ३०, ३५, ३८, ४० र ४१ बर्षिय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । बारा जिल्लामा संक्रमण पुष्टि भएकी ५२ बर्षिय महिला बाहेकका ७ जना पुरुषहरु पनि छिमेकी मुुलुक भारतको विभिन्न स्थानबाट आएको उनले बताए ।

सिरहा जिल्लामा संक्रमण पुष्टी भएका क्रमशः ३५ र ३९ बर्षिय पुरुषहरुको स्थायी ठेगाना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका रहेको खुल्न आएको छ र दुवै जना पुरुषहरु पेशागत कार्यका लागि हाल सिरहामा बस्दै आएको बताईएको छ ।
सप्तरी जिल्लामा भने बलान बिहुल गाउँपालिकामा १७ बर्षिय महिला र २९ बर्षिय पुरुष, बोदेबर्साइन नगरपालिकामा क्रमश ः १८ बर्षको १ जना, १९ बर्षका २ जना, २० बर्षका २ जना तथा २१, २८ र ५१ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सप्तरी जिल्लाकै सुरुङ्गा नगपालिकामा २९ बर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमित भएका ५६ जनासँगै प्रदेश नम्बर २ मा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ब्यक्तिहरुको संख्या ३ सय २४ पुुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका तथा यस प्रदेश संक्रमण देखिएका अधिकांश व्यक्तिहरु यूवा उमेर समुहको रहेका सचिव घिमिरेले जानकारी दिए । आवत जावत र हिँडडुल बढी गर्ने उमेर समुह भएका कारण यूवाहरुमा कोरोना संक्रमण बढी देखिएको हो । युवा उमेर समुहबाट नै संक्रमण बढी फैलने जोखिम रहेपनि यसको सवैभन्दा बढी असर ज्येष्ठ नागरीक र दीर्घरोगबाट पीडितहरुले झेल्नु परिरहेको छ । छिमेकी मुलुक भारत वा जोखिमपूर्ण कुनैपनि स्थलबाट आएकाहरुलाई उच्च सतर्कता र सावधानी अपनाउँदै स्थानीय क्वारेन्टाईनमा बसिदिन समेत उनले अनुरोध गरे ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमण उच्च हुँदै गएपछि थप जोखिमहरु पनि बढेका छन् । नेपालमा कोरोना जित्न सफल भएकाहरुको अधिकांश संख्या यसै प्रदेशमा रहेको छ । नेपालमा हालसम्म १ सय ५५ जनाको उपचार पश्चात कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएको तथ्याकं छ । जसमा ९३ जना ब्यक्तिहरु यस प्रदेशबाट नै डिस्चार्ज भएका छन् । यस प्रदेशमा डिस्चार्ज भएका ९३ जना ब्यक्तिहरु नारायणी अस्पताल र गण्डक अस्पताल बीरगंज पर्साबाट डिस्चार्ज भएका हुन् । आत्मबल, समयमै सतर्कता र चेकजाँच तथा उपचारबाट कोरोना संक्रमण मुक्त हुन सकिन्छ भन्ने तथ्य अस्पतालबाट डिस्चार्ज भएका ब्यक्तिहरुको उमेर समुह र अवस्थाले स्पष्ट पारेको सचिव घिमिरेले बताए । विशेषगरी बीरगंजको नारायणी र गण्डक अस्पतालमा भर्ना भएका केही संक्रमितहरु उच्च रत्तचाप र मधुमेह जस्ता रोगहरुबाट समेत पीडित रहेका थिए भने उमेर समुहका हिसावले शिशु समेत संक्रमित भएको अवस्था थियो ।

यस प्रदेशमा गत बैशाख १४ गते २ जना संक्रमितहरु उपचार पश्चात निको भएर डिस्चार्ज भएका थिए । पछिल्लो समय जेठ १० गते ९ जना र ११ गते १८ जना,१२ गते ४३ जना र १३ गते गण्डक अस्पताल बीरगंजबाट २१ जना उपचार पश्चात डिस्चार्ज भएका हुन् ।

त्यस्तै पिसिआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका १४ पुरुष र १ महिलागरी कुल १५ जना कोरोना संक्रमितहरुको सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । सिरहा जिल्लाको महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमित ६ जना पुरुषहरुको उपचार भइरहेको छ । त्यसैगरी धनुषा जिल्लास्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुषगरी कुल २६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलेसन कक्षमा ३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ भने सर्लाहीको मंलगवामा रहेको अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १३ जना पुरुषहरुको उपचार भइरहेको छ । रौतहट जिल्लामा रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३ महिला र २५ पुरुषगरी कुल २८ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकास्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा १४ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३८ जना पुरुष र १ जना महिलागरी ३९ जना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा २ महिला र ७ जना पुरुष गरी कुल ९ जना कोरोना संक्रमितहरुको बिरगंज महानगरपालिकास्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

त्यसैगरी सप्तरी जिल्लाको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ३ जना, सिरहा अस्पताल सिरहामा ७ जना, बारा जिल्लास्थित कलैया अस्पतालमा २ जना, बारा जिल्लास्थित जितपुर उपमहानगरपालिकामा रहेको कोभिड १९ अस्थाई अस्पतालमा ५ जना, प्रादेशिक अस्पताल जनकपुरमा ५ जना र महोत्तरी जिल्लाको जलेश्वर अस्पतालमा ३ जना गरी कुल २५ जना कोरोना आशंकित बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको सचिव घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्