एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना



म्याग्दी : ‘हाइड्रो हब’ का रूपमा चर्चित म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ सय ३९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । निर्माणाधीन अवस्थामा रहेका, निर्माणको चरणमा प्रवेश गरेका र विद्युत् विभागसँग पिपिए सम्झौता भएका सानाठूला गरी १२ ओटा जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् ।

तीमध्ये अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, ६ मेगावाट क्षमताको घलेम्दी खोला र सोही गाउँपालिका ६ घारमा १४ मेगावाटको घारखोला गरी ६२ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमकहादुर पुनले जानकारी दिए ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमै ३८ मेगावाट क्षमताको निलगिरी प्रथम, ६२ मेगावाटको निलगिरी दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले निर्माणको चरणमा प्रवेश गरी छुट्टै प्रवेशमार्ग निर्माण गरिरहेका नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए ।

नारच्याङमा नै २० मेगावाट क्षमताको निलगिरी ग्यास्केट र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज पनि निर्माण हुने भएका छन् । प्रस्तावित १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनियाँ कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीसँग संयुक्त लगानी गर्ने गरी सम्झौता भइसकेको वडाध्यक्ष फगामीले जानकारी दिए ।

उता अन्नपूर्ण गाउँपालिका–३ दानामा ४ मेगावाट क्षमताको रूप्सेखोला,  ५० मेगावाट क्षमताको मध्य कालीगण्डकी, वडा नं २ तातोपानीमा ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी र वडा नं ६ घारमा ६४ मेगावाट क्षमताको कालीगण्डकी तिप्ल्याङ जलविधुत् आयोजना सञ्चालन गर्न विधुत् विकास विभागसँग पिपिए भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्