बाघको डरले विद्यालय जाँदैनन् विद्यार्थी 



बर्दिया :  बढैयाताल गाउँपालिका–२, सीतापुरको अमरज्योति माविमा कक्षा ९ पढ्ने हिमांशु ठाकुर बिहानी कक्षामा जानै छाडेका छन् । बिहान ५ बजे विद्यालयको अतिरिक्त कक्षा जाने समयमा बाटोमा बाघको त्रास बढेकाले पढ्नै नगएको उनले बताए ।

कक्षा १० मा पढ्ने सोनम श्रेष्ठको अवस्था पनि ठाकुरको जस्तै छ । बाघको त्रासले विद्यालय जान नसकेको उनले सुनाए । दुई साताअघि मात्रै बाघको आक्रमणबाट चन्द्रबहादुर शाहीले ज्यान गुमाएका थिए । यसपछि गाउँमा त्रास फैलिएको छ । बाघको आक्रमणमा विजय बुढाक्षेत्री घाइते भएका थिए । सीतापुर र आसपास गाउँमा अहिले पनि बाघको त्रास कायमै छ । साँझदेखि बिहान घाम नझुल्केसम्म कोही बाहिर निस्किंदैनन् ।

अमरज्योति माविका शिक्षक विक्रम बर्माले बाघको त्रासले बिहानको अतिरिक्त कक्षामा झन्डै ५० प्रतिशत विद्यार्थी घटेको बताए । ‘यो क्रम अझ बढदो छ,’ उनले भने, ‘वार्षिक परीक्षा फागुन २६ गतेबाट हुने तय भएको छ । बाघको त्रासले विद्यार्थीको पढाइमा असर गर्यो ।’

गत शनिबार बिहान बढैयाताल–१, प्लट नं. ३१ मा मानबहादुर सुनारले पालेको बाख्रा बाघले खाएपछि थप त्रास बढेको स्थानीयले बताए । एक सातामा २ छाडा चौपायासमेत बाघले मारेको स्थानीय लालप्रसाद घिमिरेले बताए । ‘दिनहुँ गाउँ वरिपरि बाघ देखिन थालेपछि आतंक बढ्यो,’ उनले भने, ‘स्थानीय प्रशासनले बाघको खोजी गरी निकुञ्जतिर नधपाएसम्म त्रास रहिरहन्छ ।’ यो खबर कान्तिपुरमा छ । 

 

प्रतिक्रिया दिनुहोस्