
म्याग्दी : भारतको नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा कलेजो प्रत्यारोपण गरी नयाँ जीवन पाएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने बालिकाको थप उपचारका लागि आर्थिक अभाव भएको छ ।
हाल उपचारकै क्रममा भारतको नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमै रहेकी ९ महिने सियाना रन्तिजाको थप उपचारका लागि आर्थिक अभाव भएपछि बालिकाकी आमा रितु पुनले
अस्पतालबाटै सहयोगका लागि आग्रह गरेकी छिन् ।
सियानालाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष चन्द्रकुमार केसीले दिल्लीमा नै गएर कलेजो दान गर्नुभएको थियो । कलेजोको प्रत्यारोपण सफल भएपछि ९ महिने बालिकाको जीवनरक्षा भएको हो ।
कलेजोको सफल प्रत्यारोपण भए पनि थप उपचारका लागि आर्थिक अभाव भएकाले आमा रितुले मनकारी व्यक्तिहरूसँग सहयोगका लागि आग्रह गरेपछि ओमकुमारी शान्तिकोषले सहयोग संकलन अभियान सुरु गरेको छ ।
बालिका सियानाको उपचारका लागि यसअघि देशविदेशमा रहेका विभिन्न व्यक्ति र संस्थाबाट ३० लाख रुपैयाँ प्राप्त भएको थियो । सो रकम कलेजो प्रत्यारोपण र औषधि उपचारमा सकिएपछि अस्पतालमा थप उपचारका लागि आर्थिक समस्या परेको हो ।
थप उपचारका लागि दुई महिना अझै अस्पतालमा बस्नुपर्ने र सो उपचारका लागि १८ लाख खर्च आवश्यक देखिएकाले शान्ति कोषले अभियान थालेको हो ।
अप्रेसनपछि सियानालाई उच्च सतर्कतामा राखिएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । कलेजो प्रत्यारोपणपछि उनलाई २ महिना अस्पताल बस्नुपर्नेछ । उनलाई निरन्तर औषधि प्रयोग गर्नपर्ने भए पनि त्यसका लागि रकम अपुग भएको जनाइएको छ ।
सियानाको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका समाजसेवी तथा शुभचिन्तक दाजुभाइ र दिदीबहिनीलाई उपचारमा आर्थिक सहयोग गरिदिन आमा रितुले आग्रह गरेकी छिन् ।