पूर्वलाहुरेहरूको पहलमा गाउँ बन्यो ‘एफएम भिलेज’



म्याग्दी : धेरै वर्षसम्म विदेशमा बसेर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका ४ बास्कुनाका लाहुरेहरूले आफ्नो गाउँलाई ‘एफएम भिलेज’ अर्थात् फुड एन्ड मिल्क भिलेज (फलफूल र दुधको गाउँ) बनाएका छन् ।

गाउँमा कृषिको राम्रो सम्भावना देखेपछि अवकाशप्राप्त लाहुरे र वैदेशिक रोजगारमा गएका युवा गाउँमै फर्किएर कृषि पेसामा लागेका छन् । उनीहरूले पशुपालन र तरकारी तथा फलफूल खेती गरी गाउँलाई नै फलफूल र दूधको गाउँ अर्थात् ‘एफएम भिलेज’ बनाएका हुन् ।

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी जिल्लाको परिचय फेर्न तिनै ‘लाहुरे’ कस्सिएपछि गाउँका अरू मानिस पनि फलफूल तथा पशुपालनमा लागेको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका अन्तर्गतको बास्कुना ‘एफएम’ गाउँका रूपमा चिनिन थालेको छ । दुई वर्ष साउदी अरबको अल लाइट कम्पनीमा काम गरेर फर्केका तिलक गुरुङले भैंसीपालन, तरकारीखेती र सुन्तला उत्पादनबाट सुरु गरेको यस्तो अभियान अहिले गाउँभरि नै विस्तार भएको स्थानीय श्याम खत्रीले बताए । गुरुङले केञ्जन बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरेर कृषि र पशुपालन गर्दै आएका छन् ।

वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनमार्फत वार्षिक १२ लाख रुपैयाँसम्म कमाउन थालेका छन् । यो विदेशमा ६ वर्षमा हुने कमाइभन्दा बढी भएको तिलक गुरुङले बताए । पशुपालन, दुग्ध उत्पादन, तरकारी र फलफूल खेती, पोल्टी फार्म आफूहरूको प्रमुख पेसा भएको गुरुङले बताए ।

त्यसैगरी ६ वर्षसम्म विदेश(कतार) मा बसेर फर्केका अर्का युवा मनबहादुर खत्रीले पनि गाउँमै पशुपालन र फलफूल तथा तरकारीखेती गरेका छन् । पाँचवटा उन्नत जातका भैंसीपालन, तरकारी र फलफूल खेती सुरु गरेका खत्रीले मासिक ५० हजार रुपैयाँसम्म कमाइ हुने बताए । खत्रीले भने, ‘अर्काको देशमा पसिना बगाउन सक्ने हामीले आफ्नै स्वर्गलाई मरुभूमि बनाएछौं । उमेर बित्दै जाँदा चेत आयो राम्रै भयो ।’

प्रतिक्रिया दिनुहोस्