म्याग्दीमा बढी फल्ने बिउ र जैविक मलको प्रयोग बढ्दो



म्याग्दी : व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानरू बढी उत्पादन दिने उन्नत जातका बिउबिजन  र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका छन् । उन्नत जातको बिउ र आधुनिक प्रविधितर्फ आकर्षित भएका किसानहरूले मल भने प्राङगारिक नै रोजेका छन् ।

 परम्परागत रैथाने बिउबिजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकाले किसानहरू कृषि ज्ञान केन्द्रबाट सिफारिस गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका कृषि प्राविधिकले बताए ।

खबराका अगुवा किसान चन्द्रबहादुर कार्की रैथाने बिउबिजन, परम्परागत खेती प्रणाली र घरेलु औजार तथा साधनबाट खेती गर्दा किसानको लगानी नै नउठ्ने भएपछि उन्नत जातको बिउबिजन र प्रविधिप्रति आकर्षित भएको बताउँछन् ।

परम्परागत तरिकाले स्थानीय जातका तरकारी, अन्नबाली लगाएर बजारमा प्रतिस्पर्धा गर्न कठिन भएकाले स्थानीय जातको साटो उन्नत बिउबिजन र प्रविधितर्फ लाग्नुपरेको उनको भनाइ छ । ‘मैले १७ रोपनी जग्गामा स्थानीय र उन्नत दुवै जातका तरकारी खेती गरेको छु तर स्थानीय जातको तुलनामा उन्नत जातको बिउको तरकारीबाट धेरै फाइदा हुने र बजारमा पनि सजिलैसँग बिक्ने हुँदा  उन्नत जात नै रोज्नुपर्ने बाध्यता रहेको छ,’ कार्कीले भने, ‘किसानको मिहिनेत र लगानीका तुलनामा स्थानीय जातको बिउबाट राम्रो उत्पादन लिन कठिन पर्छ ।’

त्यसैगरी मंगला गाउँपालिकाकी जानकी जैसी पनि उन्नत जातकै तरकारी खेतीतर्फ आकर्षित भएका छन्  । छोटो समयमा धेरै उत्पादन लिन सकिने र स्थानीयको तुलनामा फाइदा पनि दोब्बरहुने हुँदा उन्नत जातको तरकारी नै  लगाउने गरेको उनले बताए ।

कार्की र जैसीमात्र होइन, म्याग्दीका ६ वटै स्थानीय तहका ३ सयभन्दा बढी व्यावसायिक कृषकले स्थानीय जातका बिउबिजन र प्रविधिको प्रयोग घटाउँदै उन्नत जात र आधुनिक प्रविधिलाई बढाउँदै लगेका छन् ।

उन्नत जातका बिउबिजनतर्फ आकर्षित हुँदै गएका यहाँका किसानले मलमा भने प्राङ्गारिक विधि अपनाउने गरेका छन् । रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आउनुका साथै माटोको मौलिक गुण पनि हराउँदै जान थालेपछि किसानहरू सचेत बनेका हुन् ।

जिल्लाको मंगला गाउँपालिकाले त प्राङगारिक मल उद्योग नै सञ्चालन गरेर किसानलाई प्राङ्गारिक मलको प्रयोग गर्न अनिवार्य गरेको छ । त्यसका साथै मानवमुत्र संकलन गरेर तरकारी, फलफूल र खाद्यान्नबालीमा प्रयोग गराउन मंगला गाउँपालिकाले अभियान नै सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्