अधिकांश कर्मचारी संघमा समायोजन



काठमाडौं : सरकारले सोमबार साँझसम्म १३ हजार ३४१ कर्मचारीको समायोजन टुंगो लगाएको छ। तीमध्ये ११ हजार ८९५ कर्मचारीको समायोजन संघमै भएको छ। यसअघि सरकारले न्याय सेवा र लेखापरीक्षण समूहका छ हजार कर्मचारीलाई स्वतः संघमा समायोजन गरेको थियो।

सोमबारसम्म न्याय सेवा, लेखा परीक्षण, प्रशासन, राजस्व, शिक्षा, इन्जिनियरिङ र वन समूहका कर्मचारीको समायोजनको टुंगो लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले मंगलबार करिब १३ हजार कार्यालय सहयोगी र सवारी चालकको समायोजन गर्ने तयारी भइरहेको जानकारी दिए। यसैगरी मंगलबारदेखि नायब सुब्बा र खरिदार तहका कर्मचारीको पनि समायोजनका प्रक्रिया सुुरु हुने उनले बताए।

सोमबारसम्म समायोजनको टुंगो लागेका कर्मचारीहरूलाई समायोजनको चिठी दिने काम सुरु गरिएको उनले बताए। सहसचिवलाई सोमबारदेखि चिठी दिने काम आरम्भ गरिएको पनि उनले जनाए। मन्त्रालयका अनुसार ६७६ सहसचिवमध्ये १०१ सहसचिवको समायोजन प्रदेशमा भएको छ। स्थानीय तहमा भने सहसचिवको समायोजन गरिएको छैन।

यसैगरी, दुई हजार छ उपसचिवमध्ये ५७६ प्रदेशमा र २३८ उपसचिवको स्थानीय तहमा समायोजन भएको छ। यसैगरी चार हजार ६०२ शाखा अधिकृतमध्ये ५६८ को प्रदेशमा र ३२६ शाखा अधिकृतको स्थानीय तहमा समायोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्