मुलुकलाई पछाडि फर्काउने कुचेष्टा सह्य हुँदैन : प्रधानमन्त्री 



काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले आज (फागुन ७ गतेको दिन नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन भएको बताएका छन्।

६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै उनले आजको दिन विगतमा भए गरेका कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र अघि बढ्न संकल्प गर्ने दिन रहेको बताए। 

सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा सरकार रहेको उनले बताए । यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ, उनले भने, ‘स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिंदैछ।

लोकतन्त्र प्राप्तिको ७ दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं। यसका लागि म हार्दिक अभार व्यक्त गर्न चाहन्छु।’ 

प्रधानमन्त्री ओलीले लोकतन्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु भइरहेको भन्दै चिन्ता पनि व्यक्त गरे। यस्ता कतिपय गतिविधिहरु आपराधिक समेत छन्, जुन सह्य हुँदैनन्। राजनीतिक रंगमा रंगिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन सक्दैनन्, उनले भने, यस्ता गतिविधि गर्नेहरुविरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनीहरुविरुद्ध सख्त कानुनी कारबाही गर्छ। म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन।’

प्रतिक्रिया दिनुहोस्