स्रोत नखुलेको ४६ लाख रुपैयाँसहित दुईजना पक्राउ



बुटबल : रुपन्देहीको भैरहवामा स्रोत नखुलेको ४६ लाख रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल र राजस्व तथा भन्सार गस्ती सुरक्षा टोलीले उक्त परिमाणमा नेपाली र भारतीय मुद्रा बरामद गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१, डण्डा बेस नजिकै चेकजाँचका क्रममा भारतीय कारबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गोबिन्द खातीले बताए।

उनका अनुसार भारतको सुनौली नाका हुँदै नेपाल भित्रिएको युपी ५६टी ३०७१ नम्बरको टोयोटा कार चेकजाँच गर्दा गुल्मी साविक रुपाकोटका ४६ वर्षीय चन्द्रकान्त पौडेलको साथबाट सो रकम बरामद भएको हो।

बरामद रकमको कुनै स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको सशस्त्र प्रहरी भन्सार गस्ती सुरक्षा डण्डा बेसका प्रमुख तथा प्रहरी नायब उपरीक्षक खातीले बताए। कारसँगै चालक भारत महाराजगन्ज नौतनवाका ३३ वर्षीय सोमई धवललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा रहेका ४५ वर्षीय पौडेल भारतको मुम्बईमा कार्यरत छन्। उनले यो रकम अन्य कामदारहरुको संकलन गरी बुझाइदिन ल्याएको बताए पनि कसको कतिकति रकम र कहाँ ठेगानामा पुर्‍याउनुपर्ने केही बताउन नसकेपछि सशस्त्र प्रहरीले जिल्ला प्रहरीमा पठाएको हो।

प्रतिक्रिया दिनुहोस्