‘गोटी’ ओसार्ने भारतीय युवा सर्लाहीमा पक्राउ परे   



जनकपुरधाम : सर्लाहीको पर्सा गाउँपालिका–४ बाट लागूऔषधसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारका २३ वर्षीय बजरंगी शर्मा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

सोमबार राति नारायणपुर प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले भारतबाट लागूऔषध लिएर आइरहेका बेला शर्मालाई नियन्त्रणमा लिएको हो । 

उनका साथबाट ७५ पिस नाइट्रोभेट ट्याबलेट, १४ पिस स्पास्मो ट्याबलेट, डाइलेक्स डिसी १० बोतल र रेक्सकोप दुई बोतल बरामद गरिएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिए । लागूऔषधको कारोबार गर्नेलाई यस क्षेत्रमा ‘गोटी’ ओसार्ने भरियाका रूपमा चिह्नित गरिन्छ ।

शर्मालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याइएको डिएसपी खड्काले बताए । भारतीय बजारमा सस्तो मूल्यमा पाइने लागूऔषध नेपालमा बढीमा बिक्री हुने गरेकाले यसको ओसारपसारमा भारतीय तथा नेपाली युवाको गिरोह नै सक्रिय छ । 

यसैबीच सर्लाहीको दक्षिणपूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका– ९ वसन्तपुरमा पसलको ताला फोडेर चोरी गरेको आरोपमा पर्सा गाउँपालिका–३ नारायणपुरका १८ वर्षीय जीतेन्द्र मण्डल पक्राउ परेका छन् । 

वसन्तपुरका शंकर रायको किराना पसलबाट सरसामान चोरी गरी गाउँमा लगेर बेच्दै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खड्काले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्