कम तौल र म्याद गुज्रिएका खाद्य सामग्री खुलमखुला बेचिँदै



सिरहा : पूर्वपश्चिम राजमार्गको लहान पूर्वी नेपालतर्फ जाने यात्रुवाहक सवारीसाधनका लागि एउटा महत्वपूर्ण बिसौनी रहँदै आएको छ । दक्षिणी भारतीय सीमासँग जोडिएको सिरहा सदरमुकाम सिरहा नगरपालिकामा कुनै बेला पूर्वाधार विकास अवरुद्ध भएका बेला राजमार्गको यो सहर गुलजार भएको थियो । 

सहरीकरणसँगै लहानमा होटल तथा लजहरू खुले । पूर्वी नेपालका वभिन्न ठाउँका लागि गुड्ने गाडीहरू खाना खान यही ठाउँमा रोकिन थाले । जसले गर्दा होटलमा आपूर्ति गर्ने सामग्रीका लागि ससाना खाद्य उद्योगहरू पनि स्थापना भए ।

 तर, यहाँका अधिकांश खाद्य उत्पादन, भण्डारण र उपयोग गर्ने उद्योगलगायतका प्रतिष्ठानले न्यूनतम मापदण्ड नअपनाउने गरेको गुनासो गरिँदै आएको छ । सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्नेगरी व्यवसायीहरूले खाद्य पदार्थ उत्पादन र सञ्चितिसँगै प्रयोग गर्ने गरेको सम्बद्ध निकायको अनुगमनमा पाइएको छ ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले नाममात्रको अनुगमन गर्दा समेत होटल तथा खाद्य उद्योगको उत्पादन तथा वितरण प्रक्रिया  अस्तव्यस्त र अस्वस्थकर रहेको देखिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा अनुगमन टोलीले लहान बजारको उत्तरी क्षेत्रमा पर्ने राधाकृष्ण चोकमा रहेका सदाम फ्रेस मिट हाउसलगायत तीनवटा मासु पसलमा एक्कासि अनुगमन गरेको छ ।

तीमध्ये दुईवटा मासु पसलमा प्रमाणित नभएको नापतौल गर्ने इलोक्ट्रोनिक तराजु प्रयोग हुने गरेको र सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको पाइएको छ । अनुगमनका क्रममा लहान–६ स्थित राजु बेकरी उद्योग, न्यु मुंगेरिया स्विट एन्ड चाट हाउसमा सरसफाइको स्थिति रुन भएको पाइएको छ । साथै केही ठाउँमा खाद्य उत्पादन गर्ने अनुमतिपत्रसमेत नरेको फेला परेको छ । 

यसैगरी किसन स्विट्ेस एन्ड चाट हाउसमा पनि सरसफाइको अवस्था राम्रो नरहेको र उक्त होटलमा म्याद समाप्त भएका पेयपदार्थ कोकोकोला दुई लिटरका १४ थान, फेन्टा दुई लिटरका ७ थान र स्पराइट २ लिटरका १० थान बरामद गरिएका छन् । ती सामग्रीलाई नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । यस्तै सोही होटलमा बिनालेबल ब्रेड बिक्रीवितरण भइरहेको पाइएको छ । 

थप सातवटा पसलमा खाद्य बिक्रीवितरण गर्ने प्रमाणपत्र नरहेको पाइएको छ । ती होटल तथा उद्योगलाई सुधार तथा अन्य प्रक्रियाका लागि सात दिनको म्याद दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले बताए ।

खाद्य उद्योग सञ्चालकहरूले नै सिरहा र सप्तरीमा सञ्चालित ४० भन्दा बढी बेकरी, पाउरोटी उद्योगको अवस्था ठीक नभएको र गुणस्तर कायम गर्न नसकेको बताउँछन् । उद्योगी सिकिन्द्र यादवले ती उद्योगमध्ये मुस्किलले दुईतीनवटाले सरसफाइ तथा गुणस्तर कायम गरिरहेको जानकारी दिए । उनले सरकारी निकायबाट निरन्तर अनुगमन तथा कारबाही भए उद्योगको अवस्थामा सुधार आउन सक्ने विश्वास व्यक्त गरे । 

यता सीमावर्ती क्षेत्रमा भारतबाट ल्याइने पेयपदार्थ र डेरी उत्पादनको नियमित अनुगमन हुन सकिरहेको छैन । सरकारी निकायले कहिलेकाहीँ नामका लागि मात्र अनुगमन गर्ने गरेका छन् । जसकारण होटल तथा खाद्य उद्योगले म्याद समाप्त भएकै सामग्री बिक्रीवितरण गर्दै आएका छन् । अनुगमनक्रममा त्रुटि देखिए ती उद्योगले मोटो रकम दिएर कर्मचारीसँग मिलेमतो गरी कारबाहीबाट जोगिने गरेको सर्वसाधारणको गुनासो छ । 

केही दिनअघि सिरहाका मापदण्डविपरीत सञ्चालनमा रहेका आठवटा उद्योगमा घरेलु तथा साना उद्योग कार्यालयले सिल लगाएको थियो । तर, ती उद्योगहरू अझै सञ्चालनमा छन् । घरेलुले दिएको १५ दिनको म्यादभित्र पनि अवस्थामा सुधार नल्याइए ती उद्योग सञ्चालन गरिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्