विकास निर्माणलाई विशेष प्राथमिकता : श्रेष्ठ



काठमाडौं :  काठमाडौं जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा परिचित चन्द्रागिरि नगरपालिकामा विकास निर्माण कार्यले गति लिएको छ ।

स्थानीय वासिन्दाको चाहनाबमोजिम नगरपालिकाले बजेट रकम छुट्याएर विकास निर्माणलाई प्राथमिकता दिएको सम्बद्ध अधिकारी बताउँछन् ।

चन्द्रागिरि नपा वडा नम्बर १२का अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा विकास निर्माण कार्यले गति लिएको छ । सडक, बाटोघाटोसँगै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम थालिएको उनले बताए ।

वडामा रहेका करिब २५ दलित समुदायलाई लक्षित गरी दलित बस्तीमा सामुदायिक भवन निर्माण भइरहेको उनले बताए । धार्मिक एवम् सांस्कृतिक कार्यका लागि दलित समुदायलाइ्र्र समस्या देखिएको र दलित समुदायकै मागअनुसार त्यही टोलमा सामुदायिक भवन निर्माण गर्न लागिएको श्रेष्ठले बताए ।

वडाको हरियालीमा खानेपानी वितरण भएपछि अन्य स्थानमा समेत माग गरिएको र सोही क्रममा ५० लाख रुपियाँको लागतमा बलम्बुमा खानेपानी ट्याङ्की निर्माण गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । यस्तै बालउद्यान, क्रियापुत्री भवन, भिमसेन चौतारा निर्माण, पुस्तकालय स्थापना र विभिन्न मन्दिर पाटीपौवाको मर्मतसम्भार तथा पुनःनिर्माण कार्य सम्पन्न गरिएको उनले बताए ।

लामो समयदेखि हुन नसकेको बलम्बुमा जग्गाधनी प्रमाणपूर्जा निकट भविष्यमै वितरण गर्न लागिएको उनले बताए । बलम्बुमा ऐलानी सरकारी जग्गामा वर्षाैदेखि स्थानीय वासिन्दा बसोबास गर्दैआएका छन् । जग्गामा घर बनाएर बसेको पुस्तौ भइसकेको छ, तर जग्गा आफ्नो नाममा हुन सकेको छैन ।

बलम्बुमा वितरण गरिएको जग्गाको सर्वे नापीनक्सा गरी लगत तयार भएर आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र लालपूर्जा वितरण गर्नमात्रै बाँकी रहेको वडा अध्यक्ष श्रेष्ठले बताए । ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर, विभिन्न विद्यालयको भवन निर्माण तथा मर्मतसम्भार, महिलाका लागि विभिन्न सीपमुलक तालिम, बृद्धबृद्धा तथा अशक्तहरुका लागि औषधोपचार तथा खाद्यान्न लगायतका आवश्यक सामग्री वितरण, विपद् व्यवस्थापनका लागि आवश्यक तयारीसहितको सामग्री वितरण, बाटोघाटो, नाला र ढल निर्माण लगायतका कार्य वडाले सम्पन्न गरेको उनले बताए ।

सेवाग्राहीले अनावश्यक दुःख नपाऊन भनेर वडाका विभिन्न टोलबस्तीमा आफै गएर पीरमर्का र गुनासो सुन्ने गरेको बताउँदै उनले प्राप्त गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको बताए ।

सहायक राजमार्गको रुपमा रहेको कलंकी पुरानो नैकाप दहचोक नागढुंगा सडक खण्डको मर्मत सुधारका लागि पनि सम्बन्धित निकायमा पहल गरेको र क्यान्सर सेल्टर होम स्थापनाका लागि पहल भइरहेको जानकारी दिए

प्रतिक्रिया दिनुहोस्