बढारकुँढार गरी मनाइयो प्रजातन्त्र दिवस



जनकपुरधाम : ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस र तेस्रो निर्वाचन दिवसको अवसरमा संयुक्त रूपमा जनकपुरधाममा प्रभातफेरी गरिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयले प्रजातन्त्र दिवस र निर्वाचन कार्यालयले निर्वाचन दिवस मनाउन संयुक्त रूपमा प्रभातफेरी गरेका हुन् । जनकपुरको जानकी मन्दिरबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो ।

प्रभातफेरीपछि जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव बनरैतलगायतका सहभागीले प्रजातन्त्रका लागि सहादत दिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रमका सहभागीहरूले प्रजातन्त्रपश्चात् देशले कोल्टो फेरेको बताए ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारीलगायतको सहभागिता थियो । यसैबीच प्रदेश २ का विभिन्न मन्त्रालयमा समेत कर्मचारीहरूले सरसफाइ गरी प्रजातन्त्र दिवस मनाएका छन् । मन्त्रालय प्रागंणमा रहेका फोहोरको सरसफाइ उनीहरूले गरेका हुन् । 

त्यसैगरी म्याग्दीको विकट गाउँ धौलागिरि गाउँपालिका ४ मुदीमा पनि सरसफाइको आयोजना गरेर ६९ औं प्रजातन्त्र दिवस मनाइएको छ । दिवसका अवसरमा मुदी स्थित बुद्धि विकास माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले गाउँमा सरसफाई गरेर प्रजातन्त्र दिवस मनाएका हुन । 

विभिन्न नारा लेखिएका प्यलेकार्ड सहितको विद्यार्थीहरुको र्‍यालीले गाउँ परिक्रममा पनि गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्