‘मानवअधिकारका नाममा खुलेका संस्था स्वार्थ केन्द्रित’



जनकपुरधाम : मानवअधिकारवादी संघ संस्थाहरूले सबै वर्गलाई समेट्न नसकेको गुनासो बढ्दै गएको छ । मंगलवार जनकपुरधाममा आयोजित कार्यक्रममा सरोकारवालाले देशमा भ्रष्टाचार र आपराधिक घटना बढ्दै गएपनि मानवअधिकारवादी संघसंस्था सेवा भाव नभई आफ्नो आर्थिक स्वार्थको विषयमा मात्र एनजीओकर्मीको रूपमा काम गर्दै आएको बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का आर्थिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्रिय मानवअधिकार आयोगको भूमिका निरीह देखिएको बताए । ‘हत्या, हिंसा लगायतका धेरै घटना बढ्दै गएको छ,’ उनले भने, ‘तर मानवअधिकारका नाममा खुलेका संस्थाले जुन भूमिका खेल्नुपर्ने हो त्यो देखिएको छैन ।’

राजनीतिक विश्लेषक प्राध्यापक डा. भोगेन्द्र झाले राष्ट्रिय मानवअधिकार आयोगले सबै वर्गलाई समेट्न नसकेका कारण जाति, वर्ग र समुदायको नाममा मानवअधिकारवादी संघसंस्था च्याउ सरी उम्रिएको धारणा राखे । 

कार्यक्रमका अन्य वक्ताले पनि अधिकारका लागि खुलेका संस्थाले नाम अनुसारको काम नगरेको गुनासो गरेका थिए । कार्यक्रममा इन्सेकले प्रकाशन गरेको वर्ष समीक्षा पुस्तक ‘नेपाल मानवअधिकार वर्ष २०१९’ सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्