ललितपुरका कोरोना संक्रमितको शव लैजाँदा शवदाह गृहमा ताल्चा !



काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा लगाएर कर्मचारी भागेका छन् ।

बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउने बेलामा शवदाह गृहमा ताल्चा लगाएर भागेका हुन् ।

ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ उपचारका क्रममा मृत्यु भएका बुङमतीका एक पुरुषलाई दाह संस्कारका लागि शव लैजाँदा शवदाह गृह बन्द थियो ।

अस्पतालबाट मृतक पुरुषको शवलाई विश्व स्वास्थ्य संगठनको नियम पालना गरेरै लगिएको थियो ।

तर, शवदाह गृहमा कर्मचारी नभएपछि अर्को घाटबाट कर्मचारी ल्याई उनीहरुलाई प्रहरीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) दिएपछि शव जलाउने प्रक्रिया शुरु भएको थियो ।

यद्यपि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने शवदाह गृह बन्द नभएको जानकारी दिएका छन् ।

उनले भने–‘६ बजे नियमित शवदाह गृह बन्द हुन्छ । शवदाह गृहमा ताल्चा लगाएको देखिए पनि केहीबेरमा नै शवदाह गृह खुला गरेर मृतकको अन्त्येष्टि गरिएको छ ।’

यसअघि कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको पनि शव दाहगृहमै अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्