आठौँ राष्ट्रिय खेलकुद प्रदेश १ मा छनौट सुरु



विराटनगर : आठौँ राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय छनौट प्रतियोगिता मंगलबारबाट प्रदेश १ मा सुरु भएको छ । विराटनगरमा सुरु प्रतियोगिताको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे । 

आठौँ राष्ट्रिय खेलकुदमा समावेश गरिएका ३५ खेल मध्ये फुटबल, एथलेटिक्स, भारोत्तोलन, टेबुल टेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कवड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, कराँते, ह्याण्डबल, चेस, पौडी, सुटिङ, कुस्ती, आईटिएफ तेक्वान्दो, सेपकताक्रो फुलकन्याक कराँते, हक्की र स्क्वास गरी २५ खेलको छनौट प्रक्रिया प्रदेश १ बाट सुरु भएको हो । 

लङ टेनिस, साइक्लिङ, आर्चरी, फिन्सिङ, गल्फ, प्याराग्लाईडिङ, ट्रयाथलन, सफ्टेनिस, जिम्यास्टिक र शारीरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाटै छनोट भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

बक्सिङ, कराँते, भारोत्तोलन र खो खोका खेल मंगलबारबाट विराटनगरमा सुरु भएका छन् । छनौट अन्तर्गतको कराँते प्रतियोगिताको महिला एकल कातातर्फ खोटाङकी रेश्मा राईले स्वर्ण जितेकी छन् । रेश्माले मोरङकी स्वस्तिका राईलाई पराजित गरिन् । महिला एकल कातामै इलामकी विमोचन गुरुङ र शर्मिला श्रेष्ठले कास्य जिते । पुरुष कातामा सुनसरीका रोहित राई सेमीफाइल प्रवेश गरेका छन् । 

त्यस्तै बक्सिङतर्फ महिला ४८ केजी तौलमा भोजपुरकी प्रतिमा राईले क्वाटरफाईनलमा स्थान बनाएकी छन् । त्यस्तै बक्सिङमै पुरुष ५६ केजी तौल समूहमा धनकुटाका रोशन श्रेष्ठ र झापाका सुरेन्द्र राई क्वाटर फाइनलमा प्रवेश गरेका छन् । 

पुरुष ६० केजीमा इलामका तोविन प्रधानले क्वाटरफाइनलमा स्थान बनाए । 

फाल्गुन ११ गते सम्म सञ्चालन हुने बक्सिङमा महिलातर्फ ६ तथा पुरुषतर्फ १० तौल समूह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्