बजेट पुरानै ढर्राको : जनता समाजवादी



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने गरी बजेट नआएको बताएका छन् ।

बिहीबार अर्थ मन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेपछि नेता भट्टराईले बजेट पुरानै ढर्रामा ल्याइएको प्रतिक्रिया दिएका छन् ।

कोरोना महामारीको संकट समाधान हुने गरी बजेट नआएको बताउँदै उनले पुरानै ढर्राबाट ल्याइएको बजेटले महामारीसंग जुधन नसकिने टिप्पणी गरेका छन् ।

‘गत वर्ष स्वास्थ्य क्षेत्रमा बजेट ६८ अर्ब थियो, अहिले ९० अर्ब बिनियोजन गरिएको छ’ डा. भट्टराईले भने, ‘२२ करोडले कोरोना महामारी कसरी नियन्त्रण हुन्छ ?, उपचार, उपकरण, प्रयोगशालाका निमित ९० अर्बले पुग्दैन् ।’

वर्षौंदेखि पुराना योजना रेल, पानी जहाजमा किन चाहियो बजेट भन्दै प्रश्न गर्दै उनले अहिलेको विशेष परिस्थितिमा महामारी नियन्त्रण एवं जुधन सक्ने गरी बजेट आउँनुपर्नेमा पुरानै ढर्राको आएको बताए ।

अहिलेको महामारी नियन्त्रण हुने गरी विशेष खालको बजेट ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताउँदै भने, ‘क्यान्सर लागेको छ तर बजेट झारफुक जसरी आयो ।’

उनले स्वास्थ्य र उपचारका क्षेत्रमा प्राथमिकता, व्यवसायीलाई राहत, कृषिमा राहत जस्ता कुरा सैद्धान्तिक रुपमा राम्रा भए पनि व्यावहारिक नरहेको बताए । दसौं लाख नेपाली रोजगारी गुमाएर विदेशबाट फर्किरहेका बेला गत वर्षभन्दा ७ अर्ब बजेट वृद्धि गरेर सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसकेको प्रतिक्रिया दिए । गत वर्ष कृषि क्षेत्रका लागि ३४ अर्ब बजेट थियो । अहिले ४१ अर्ब विनियोजन गरिएको छ ।

धेरै युवा र बेरोजगार ग्रामीण क्षेत्रमा फर्किने भएकाले उनीहरुका लागि लक्षित कार्यक्रम नै नआएको भट्टराईको भनाइ छ । उनले भने, ‘बजेट निरन्तरतामा आयो, यसले संकट समाधान गर्छ जस्तो लाग्दैन, कनिका छरेजसरी आएको छ ।’

जसपा नेता राजेन्द्र महतोले अहिलेको बजेटले महामारी नियन्त्रणमा सहयोग नपुग्ने गरी बजेट आएको प्रतिक्रिया दिएका छन् । सरकारले कोरोना महामारी नियन्त्रणमा संबेदनशिल नभएको आरोप लगाउँदै अहिलेको बजेटले केही होला जस्तो बिश्वास आफूलाई नलागेको उनले बताए ।

‘अहिलेको बजेटले महामारी नियन्त्रण होला जस्तो मलाई लाग्दैन, स्वास्थ्य क्षेत्रको बजेट अपुग छ’ महतोले भने, ‘सरकार अहिलेको महामारी नियन्त्रण गर्न संबेदनशिल देखिएन, कनिका छरेको जस्तो बजेट किन चाहियो ?’

सुन्दा राम्रो सुनिय पनि यथार्थतमा बजेट हावादारी नै रहेको टिप्पणी उले गरे । सबै क्षेत्रमा बजेट कनिका छरे जस्तो ल्याइएको उनले बताए । राजस्व स्रोत पनि हावादारी नै रहेको महतोले बताए ।

जसपा सांसद रामसहाय यादवले बजेटले कनिका छरेको जस्तो आएको प्रतिक्रिया दिए । नेपाल अहिले कोरोना महामारीबाट जुधिरहेको अवस्थामा सरकारले महामारीलाई नियन्त्रण गर्ने गरी बजेट नल्याएको उनले बताए ।

‘सरकार जनताको स्वास्थ्यप्रति संबेदनशिल देखिएन, कनिका छरेजस्तै बजेट ल्याएको छ’ यादवले भने, ‘यो बजेटले कोरोना महामारीसंग जुधन सकिदैन, बजेट हावादारी नै छ ।’

अहिलेको अवस्थामा राजस्व असुली गर्ने, बैदेशिक सहायता र लगानी आउँने अनुमान गर्नु बुद्धिमानी नभएको बताउँदै उनले यो बजेट कार्यान्वयनमा पनि शंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्