समाजवादको बाटो पक्रिने गरि बजेट : नेकपा



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको बाटो पक्रिने गरी बजेट आएको बताएका छन् ।

अर्थ मन्त्री डा. युवराज खतिवाडाले बिहिबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेपछि अध्यक्ष दाहालले संचारकर्मीलाई प्रतिक्रिया दिँदै सृर्जनात्मक ढंगबाट समाजवादको बाटो पक्रने गरि बजेट आएकोमा खुशी व्यक्त गरेका छन् ।

‘प्रस्तुत बजेट सन्तुलिट तथा जनतालाई राहत दिने प्रकारको नै रहेको छ’ दाहालले भने, ‘मुख्यत सृर्जनात्मक ढंगबाट समाजवादको बाटो पक्रिने गरी बजेट आएकोमा म खुशी छ ।’

बजेट पूर्ण कार्यान्वयन भएमा समाजवाद स्थापना गर्ने लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै उनले अहिलेको अवस्थामा जनतालाई राहत तथा महामारीसंग जुध्न सहयोग पुग्ने बताए ।

नेकपा वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको आवश्यक्ता पुरा गर्ने गरी बजेट आएको बताए । कोरोनाभाइरसको महामारीको बेलामा बजेटले रोग र भोकसँग कसरी समाना गर्ने कुरालाई सम्बोधन गरेको टिप्पणी उनले गरेका छन् ।

‘अहिलेको बजेटले जनताको व्यवस्थापन गर्ने र रोजगारीको कुरा, कृषि क्षेत्रालाई प्रोत्साहन गर्ने कुरा, उद्योगधन्दा, सेवा क्षेत्रका व्यवसाय र ऋणमा परेकाहरूलाई के कति सहुलियत दिन सकिन्छ भन्ने कुरा सम्बोधन गरेको छ’ वरिष्ठ नेता नेपालले भने, ‘कोरोना महामारीका बेला रोग र भोकसँग कसरी समाना गर्ने भन्ने विषयमा बजेट केन्द्रीत छ ।’

बजेटले सबै कुरालाई समेटेको भए पनि यसको स्रोत जुटाउन भने निकै चुनौतीपूर्ण रहेको उनले बताए । स्रोत जुटाउन चुनौतीपूर्ण भए पनि यसमा आर्थिक उत्पादन कुन ढंगबाट अघि बढ्छ र कोरोना कहिलेसम्म रहन्छ भन्ने कुरा जोडिएको बताए ।

नेपाल सरकारका पर्यटन मन्त्री एवं नेकपा स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बजेट उत्साहजनक नभए पनि समयानुकुल भएको बताएका छन् ।

‘बजेटले स्वास्थ्य, रोजगारी, कृषिलगायतलाई प्राथमिता दिएको छ,’ भट्टराईले भने, ‘दैनिक खर्चलाई पनि कटौती गरिएकोले समग्रमा सन्तोषजनक छ ।’

नेकपा स्थायी कमिटीका सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट समग्र परिस्थितिलाई हेरेर आएको भएपनि कार्यन्वयनमा धेरै चुनौतिपूर्ण रहेको प्रतिक्रिया दिएका हुन् ।

‘समग्रतामा परिस्थितिलाई हेरेरै बजेट आएको छ । किनभने राजश्व उठ्न नसक्ने कुरालाई यस पटकको बजेटले ख्याल गरेको छ’ पाण्डेले भने, ‘यति हुँदाहुदै पनि यसले बैदेशिक ऋण बढि लिन सकिन्छ कि भन्ने आकांक्षा राखेको छ त्यो परिपूर्ति हुन कठिन छ ।’

अर्को बर्ष ७ प्रतिशत बृद्धि गर्ने भनेपनि खासगरी पूँजिगत क्षेत्रको खर्चको कटौैती गर्ने कुरा गरिरहेका बेलामा बैदेशिक ऋण राखेपनि नआउने स्थिति रहेको बताए । हरेक वर्ष बैदेशिक सहायतामा भर परेर बजेट ल्याउने गरिएपनि नआउने गरेको अनुभव रहेको बताउँदै उनले यो वर्ष पनि विगतको नियत दोहोरिने सम्भावना रहेको बताए ।

बैदेशिक ऋण र सहायताहरु बढिजसो पूँजिगत खर्चमा खर्च हुने भन्दै यसले आर्थिक बृद्धिको दरमा उक्लने घोषणालाई पुरा गर्न चुनौतिपूर्ण र कठिन हुने उनले बताए । बजेट स्वास्थ्य क्षेत्रलाई बढि ख्याल गर्ने, शिक्षा, तालिममार्फत रोजगारी सिर्जना गर्ने विषयलाई हेरेर रकम बाँडफाड गरेको भएपनि कतिपय खर्चलाई एउटै बास्केटमा राखेर त्यो खर्च कटौती गर्न ध्यान पुरयाउन सकिए राम्रो हुने बताए ।

बजेटमा श्रोतको हिसाबले चालू खर्च अन्तर्गत गाडी, मर्मत लगायतका क्षेत्रमा कटौती गर्ने कुरा गर्नु सकारात्मक भएपनि बैदेशिक सहायतामा बढी भरपर्ने स्थितिमा त्यो प्राप्त नहुँदा आर्थिक बृद्धिको लक्ष्य पुरा हुन कठिन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्