ठूला दल सुस्त, साना सक्रिय !



काठमाडाै‌ : ठूला दल राजनीतिक एजेन्डामा सुस्त देखिए पनि साना दल सक्रिय भएका छन्। सत्तारुढ दल नेकपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक झमेलामा फसेका बेला साना दल राष्ट्रव्यापी अभियान लिएर गाउँ पसेका छन्। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट र ३ प्रतिशत मत ल्याउने दललाई राष्ट्रिय मान्यताप्राप्त दल मानिन्छ। गत चुनावका आधारमा ४ दल (नेकपा, कांग्रेस, संघीय फोरम र राजपा) ले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।

चुनावी मोर्चामा कमजोर बनेपछि साना दल निरन्तर राष्ट्रिय अभियानमा जोडिन थालेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नयाँ शक्ति, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत साना दल पार्टी अभियान बोकेर गाउँ छिरेका छन्। मंगलबारबाट राप्रपा र क्रान्तिकारी माओवादी गाउँ पसेका छन्। राष्ट्रिय जनता पार्टीले फागुन १० देखि १३ सम्म जनकपुरमा प्रदेश २ का प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्षमण्डलको बैठक बोलाएको छ। 

लगत्तै उसले फागुन १४ गते विराटनगर, १६ गते भैरहवा, १७ गते नेपालगन्जमा जिल्ला अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरूको बैठक बोलाएको छ। २२ देखि २५ सम्म मधेसी, आदिवासी जनजाति बुद्धिजीवीसँगको अन्तक्र्रिया आयोजना गर्न लागिएको संयोजक महेन्द्रराय यादवले बताए।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले पनि पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमा असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा अभियान सञ्चालन गरेको छ। डा.भट्टराईसहित हेडक्वार्टर सदस्यको अगुवाइमा सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेसागत संगठनका नेतासहित नयाँ शक्तिले माघ १५ देखि फागुन १५ सम्म अभियान घोषणा गरेको हो।

कमल थापा नेतृत्वको राप्रपाले पनि फागुन १५ देखि ३० गतेसम्म ताप्लेजुङदेखि कञ्चनपुर हुँदै काठमाडौंसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गर्न लागेको छ । अभियानबारे मंगलबार मात्रै अध्यक्ष थापासहितको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको खवर अन्नपुर्णमा छ । 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि मंगलबारबाट राष्ट्रव्यापी अभियान घोषणा गरेको छ। देशका मुख्य चार सहरबाट अभियानको मंगलबार उद्घाटन गरिएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दिनेश शर्माले बताए।

 ७ देखि २१ फागुनसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि भन्दै वैद्य माओवादीले मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो। राष्ट्रिय जनमोचा, नेमकिपालगायत दल पनि पार्टी आन्तरिक काममा छन्।

प्रतिक्रिया दिनुहोस्