दशैंको तलब दिएर राजपा नेपालले निकाल्याे केन्द्रीय कार्यालयबाट सबै कर्मचारी



राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी हटाइएका छन् ।  दशैंको तलब दिएर उनीहरुलाई अब कार्यालय नआउन भनिएको छ ।

 

कार्यालयमा काम गर्ने केही कर्मचारीहरुले आर्थिक चलखेल गर्नुको साथै काममा ध्यान नदिएको आरोप नेताहरुले लगाउँदै आएका थिए । ती कर्मचारीहरुको बारेमा पार्टीको अध्यक्ष मण्डलको बैठकदेखि राजनीतिक समितिको बैठकसम्म कुरा उठ्ने गरेको थियो ।

 

कार्यालयमा प्रदीप पाठक (कार्यालय सचिव), राजाराम पासवान (उनी पार्टीका सचिव पनि हुन्), राजेश चौधरी, सतेन्द्र मिश्र (महन्थ ठाकुरको स्वकीय सचिव), सुरेन्द्र मण्डल, तिलक रावल, विद्याधर झा, दिलिप साह, महावीर शाही, रञ्जित कुमार झा र दुईजना अन्य महिला कार्यरत थिए ।

 

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिल झा, राजेन्द्र महतो, महासचिव केशव झा, चन्दा चौधरी लगायतका नेताले कर्मचारीहरुले गलत काम गरिरहेको विषय बैठकमा उठाउँदै आएको स्रोतले जनाएको छ । 

कार्यालयमा हुने कुनै पनि काम जस्तै, छपाईका काम, नास्ता, खाजा तथा अन्य आवश्यक चाहिने वस्तुको खरिदमा कमिशन खाने गरेको, पार्टीको काम नगरेर कार्यालयमा त्यतिकै गफ गरेर बस्ने गरेको लगायतका आरोप उनीहरुमाथि लागेको थियो । 


नेतालाई टेर्दैनथे कर्मचारी

६ वटा दल मिलेर बनेको राजपा नेपालमा ती दलबाट कर्मचारीहरु भर्ना भएका थिए । तर, ती कर्मचारीहरु काम गर्नुको सट्टा राजनीति बढी गर्थे । आ–आफ्ना नेतालाई कुरा लगाउने देखि लिएर आफ्ना नेताको काम मात्र उनीहरुले गर्ने गरेका थिए । 

 

‘कर्मचारीहरु कर्मचारी जस्तो देखिएका थिएनन् । नेताको जस्तो व्यवहार गर्नुहुन्थ्यो उहाँहरु’ एक नेताले भने, ‘सांसद, मन्त्री बनाउनेदेखि संसदीय दलको नेता र कुन नेतालाई मनोनित गर्ने भन्ने विषयमा समेत उहाँहरुले नेतालाई सल्लाह दिनका लागि छेउमा जानुहुन्थ्यो, कुनै डकुमेन्ट माग्यो भने उहाँहरु एउटा नाम देखाएर पन्छिनुहुन्थ्यो ।’

 

त्यसबाट राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिल झा स्वयं पीडित बनेका थिए । एकपटक उनले आफ्नो जिल्लाको विकास कार्यक्रम टाइप गर्न त्यहाँका कर्मचारीलाई अह्राउँदा नगरिदिएको एक नेताले सुनाए । 

 

पार्टीका महासचिव सुनिलकुमार रोहितले एउटा चिठी बनाईदिन कर्मचारीलाई अह्राएपछि उनलाई बाहिरको साइवर देखाएको घटना पनि राजपा नेपालमा चर्चाको विषय बनेको छ । पार्टीका महासचिव विनोद सिंहले कार्यालयमा कर्मचारी धेरै भएका कारणले निकालिएको दाबी गरे ।

 

जति कर्मचारी थिए त्यसको तुलनामा काम नहुने गरेको उनले बताए । अब चारजना नयाँ कर्मचारी मात्र राखेर कार्यालय सञ्चालन गरिने उनले बताए ।  अनियमितताको बारेमा जिज्ञासा राख्दा भने उनले यस बारेमा आफूलाई केही थाहा नभएको बताए ।


 

बोलचाल बन्द 

त्यहाँ काम गर्ने कर्मचारी बीच बोलचाल समेत थिएन । महतो समूहका कर्मचारी र महन्थ ठाकुर समूहको कर्मचारीबीच बोलाचाल नहुँदा त्यहाँका थुप्रै कार्यक्रमहरु प्रभावित भइरहेका थिए । जहिले पनि एक अर्कालाई तल देखाउने र एक अर्कालाई होच्याउने गर्ने गरेकाले कर्मचारीका बीचमा द्वन्द्व थियो । तर, यो द्वन्द्वमा साना कर्मचारीहरु पनि पिसिएका छन् ।  

 

कार्यालयमा काम गर्ने रन्जित झाले भने, ‘हामीलाई के कारणले हटाएको छैन थाहा छैन, तर मैले सुने अनुसार कर्मचारीहरुले अनियमितता गरेको तथा पार्टीको काम इमान्दारीपूर्वक नगरेको आरोप लागेको छ तर त्यो आरोप सबैलाई लगाउन मिल्दैन । जसले अनियमितता गरेको छ, त्यसको बारेमा छानबिन गरी उसैलाई कारबाही गर्नुपर्यो । एकदुई जनाको गल्तीलाई देखाएर कारवाही गर्नु उचित होइन ।’

 

कार्यालयमा कुुरा कतिसम्म भएको छ भने त्यहाँका सबै कर्मचारीका लागि प्रेसवालाले दशैं खर्च भनेर एक लाख रुपियाँ पठाएको तर कार्यालय सचिव प्रदीप पाठकले सबै खर्च कुमल्याएको आरोप समेत लागेको छ । 

 

त्यति मात्र होइन, पार्टीका संयोजक महन्थ ठाकुरका स्वकीय सचिव सतेन्द्र मिश्रलाई प्रेसवालाले दशैंमा एउटा एलडी टीभी पनि उपहार दिएको त्यहाँका कर्मचारीहरु बताउँछन् । तर, सबै कर्मचारीलाई हटाइए पनि सतेन्द्रलाई हटाएइको छैन । 


यसरी हुन्थ्यो भ्रष्टाचार

पार्टी कार्यालय सञ्चालनमा भएको खर्चको हिसाब, बील भौचरसमेत व्यवस्थित नराखिएको आरोप कर्मचारीमा लागेको छ । आर्थिक करोबारको समेत जिम्मेवारी पाएका पार्टीका संयोजक महन्थ ठाकुरसमक्ष बील भर्पाई प्रस्तुत हुँदैनथ्यो । भएपनि उनले त्यति ख्याल नगरि जे आउँथ्यो त्यसमा हस्ताक्षर गरेर पठाउँथे । र, त्यसैको फाइदा त्यहाँका कर्मचारीहरु उठाउने गरेको स्रोतले जनाएको छ । 

 

स्थानीय तहको चुनावमा ती कर्मचारीले सातलाख ४० हजार रुपियाँ घोटला गरेको चर्चा पार्टीभित्र व्याप्त छ ।  उनीहरुले अध्यक्षमण्डलको निर्णयबाट दिएको छपाईको परिणामभन्दा बढी रकम पार्टीबाट लिएका छन् । हामीलाई प्राप्त बिलअनुसार आग्रहपत्र ४ लाख प्रति छापिएको थियो । १३ पैसाको दरले छापिँदा त्यसको रकम ५२ हजार हुन्छ तर तीनलाख ३२ हजारको बिल पेस गरिएको थियो ।

 

त्यस्तै नमुना मतपत्र पनि ४ लाख छापिएको थियो । त्यसको एक रुपियाँ १५ पैसाको दरले चारलाख ६० हजार हुनुपर्ने चारलाख ७२ हजारको बिल पेस गरिएको थियो ।  राजपा नेपालका एक नेताले बिल देखाउँदै भने, ‘यस्ता अनियमितता कति गरेका छन् कति । कार्यालयमा कुनै कार्यक्रम छ । त्यसमा ५० जनाको लागि खाजा आउँछ तर बिल पेस हुन्छ डेढसयको ।’ 

 

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पार्टीको विस्तारित बैठक हुँदा त्यहाँ पनि कुपनमै भ्रष्टाचार भएको थियो । अध्यक्ष मण्डलले भनेको परिणामभन्दा बढी कुपन छापेर भ्रष्टाचार गरेको आरोप ती कर्मचारीमाथि लागेको छ । कुपन लिएर लाइनमा बसेपछि बाँकी अरु कुपनको ठेली पार्टी प्यालेसको कर्मचारीलाई दिइन्थ्यो र पछि त्यसलाई काउन्ट गरेर त्यसको पैसा उठाउँथे उनीहरु । 

 

यस्ता थुप्रै आरोप कर्मचारीहरुमाथि लागेको छ । राजपा नेपालमा काम गर्ने कर्मचारीले त्यहीको कमाईले काठमाडौंमा घर पनि बनाई सकेको चर्चा पनि पार्टी कार्यालयमा रहेको छ ।  बबरमहलमा रहेको पार्टी कार्यालयमा महन्थ ठाकुरको तर्फबाट ६ जना कर्मचारी थिए भने राजेन्द्र महतोको तर्फबाट तीनजना थिए । शरदसिंह भण्डारी र महेन्द्रराय यादवको तर्फबाट एक–एकजना थिए । 

प्रतिक्रिया दिनुहोस्