कांग्रेस संसदीय दलको बैठक आज बस्दै, यी विषयमा छलफल हुँदै



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे संघीय संसद नयाँबानेश्वरमा बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान संशोधन, बजेटको समिक्षा र समसामायिक राजनीतिक विषयका बारेमा छलफल गर्न बैठक आह्वान गरेको जानकारी दिए ।

संविधान संशोधनका बारेमा छलफल कांग्रेसले भोलि शनिबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

कांग्रेसले नयाँ नक्सासँग जोडिएको संविधान संशोधनका पक्षमा एकतावद्ध भएर उभिने प्रष्ट पारेको छ । गलत प्रचार गरिएको भन्दै कांग्रेसले राष्ट्रियता प्रति शंका नगर्न पनि सबैलाई अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरि कांग्रेस नेपाली भूमि फिर्ता ल्याउनुपर्छ भन्नेमा प्रष्ट रहेको र यसै अनुसार अघि बढ्ने बताएका छन् ।

प्रवक्ता शर्माले भारतीय सञ्चारमाध्यमा नियतबस गतल प्रचार भएको बताउँदै विश्वास गर्न समेत आग्रह गरेका छन् ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्नका लागि संविधान संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जेठ ९ गते संसदमा प्रस्ताव दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्