कोरोना जितेर १८ दिन पश्चात घर फर्के पत्रकार विरेन्द्र रमण



जनकपुरधाम : गत बैशाख ३० गते कोरोना संक्रमित भएका जनकपुरका पत्रकार विरेन्द्र रमण बिहीबार १८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

वैशाख ३० गते राती संक्रमित भएपछि पत्रकार रमण ३१ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको नर्सिङ क्याम्पसमा निर्माण गरिएको कोरोना विशेष अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएका थिए ।

अस्पताल भर्ना भएको १८ दिनपश्चात उनको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि आज उनलाई घर फर्काइएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

पत्रकार रमणको अन्तिम परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बिहीबार चिकित्सकहरुको रोहवरमा उनलाई डिस्चार्ज गरिएको डा.रविरञ्जन प्रसादले जानकारी दिए । उनले पत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको समेत स्पष्ट पारे ।

कोरोना संक्रमण निको भएपछि रमणलाई पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरण कर्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, पत्रकार अजय अनुरागी,जयन्त ठाकुर लगायतकाले फुलमाला लगाएर अस्पतालबाट ल्याएका थिए ।

पत्रकार रमण प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन कक्षबाट डिस्चार्ज हुने पहिलो व्यक्ति हुन् । यसअघि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल र गण्डक अस्पतालबाट गरि ९७ जना कोरोना संक्रमित तव्यक्ति उपचार पश्चात नीको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्