पत्नी मार्नका लागि गोमन सर्प पठाउने मानिस पक्राउ



एजेन्सी : भारतको केरलमा एक व्यक्तिले आफ्नी पत्नीका हत्या गर्नका लागि उनको कोठामा गोमन सर्प पठाएको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ ।

फोन रेकर्डहरू हेर्दा सुरज नामक ती व्यक्तिले सपेराहरूसँग कुरा गरेको र इन्टरनेटमा सर्पहरूसम्बन्धी भिडियो हेरेको प्रहरीको भनाइ छ ।

सुरजले मार्च महिनामा पनि खतरनाक भाइपर सर्प ल्याएको र त्यसले टोक्दा उनकी पत्नी उत्तरा दुई महिनासम्म अस्पतालमा बस्नुपरेको प्रहरी अधिकारी अशोक कुमारले बताए ।

उत्तरा माइतमा बसेर निको भइरहँदा सुरजले एकजना सपेरासँग गोमन साँप किनेर ल्याएको र सुतिरहेकी पत्नीमाथि फालेको पाइएको छ ।

प्रहरीको बयानमा लेखिएको छ, ‘सुरज पनि त्यही कोठामा बसेर केही नभएको जस्तो बेहोरा देखाइरहेको थियो ।’

‘भोलिपल्ट बिहान ऊ नियमित कर्म गरिरहेको थियो र उत्तराकी आमा चिच्याएपछि के भो, के भो भन्दै आएको थियो ।’

‘उनीहरूले उत्तरालाई अस्पताल लगे । चिकित्सकले उनको मृत्यु भएको घोषणा गर्‍यो ।’

उत्तराको मृत्यु भएको केही दिनपछि नै सुरजले पत्नीको सम्पत्ति आफ्नो नाममा पार्न खोजेपछि उत्तराका आमाबुवालाई शंका लाग्यो ।

उत्तरा सम्पन्न परिवारकी थिइन् भने निजी बैंकमा काम गर्ने सुरज सामान्य परिवारका हुन् ।

प्रतिक्रिया दिनुहोस्