उपनिर्वाचन अनिश्चित, ३६ वडाध्यक्ष र ८६४ वडा सदस्य रिक्त



काठमाडौं : निर्वाचनको करिब २ वर्ष पुग्न लाग्दा स्थानीय तहमा ३६ वडाध्यक्ष र ८ सय ६४ वडा सदस्य पद खालि छन्। सरकारले वडाध्यक्षको मात्र उपनिर्वाचन गराउने गरी संसद्बाट विधेयक पारित गराएको छ। सदस्यबारे विधेयक मौन छ। निर्वाचन आयोगले वडा सदस्यको पनि उपनिर्वाचन गराउने प्रस्ताव सरकारसमक्ष पठाएको थियो। सरकार सदस्यबारे मौन बसेपछि ती जनप्रतिनिधिका पद पूर्ति गर्न कठिनाइ उत्पन्न भएको हो। कार्यकारी अधिकार प्राप्त वडाध्यक्ष नहुँदा ३६ वडाका काम प्रभावित छन्। १८ वडाध्यक्षको दुर्घटनामा मृत्यु भएको थियो भने १८ जना जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि रिक्त भएको हो।

८ सय ६४ सदस्य खाली छन्। २ सय ३८ दलित महिला सदस्यमा उम्मेदवारी नै नपरेकाले रिक्त छन्। ४ सय १५ वडा सदस्य र २ सय ११ महिला सदस्य गरी जम्मा ६ सय २६ सदस्य जिससमा निर्वाचित भएर पद छाडेपछि रिक्त भएका थिए। ‘हामीले सरकारलाई वडाध्यक्ष र वडा सदस्य रिक्त भए उपनिर्वाचन गर्ने प्रावधान सहितको मस्यौदा पठाएका थियौं। तर ऐनमा वडा सदस्यको उपनिर्वाचन गर्ने व्यवस्था राखिएन’, निर्वाचन आयोगका आयुक्त ईश्वरी पौड्यालले भने, ‘सरकारले प्रमुख/उपप्रमुख र वडाध्यक्षको मात्रै उपनिर्वाचन गर्न खोजेको देखियो।’ गत साउन १७ मै आयोगले वडाध्यक्ष र सदस्यको निर्वाचन गर्न ऐन संशोधनको खाका पठाएको थियो। सरकारले खाली पदको विवरणसहित आयोगमा पत्राचार नगरेको र मिति पनि घोषणा गर्न बाँकी रहेकाले उपनिर्वाचनको अन्योल कायमै रहेको उनले बताए।

सरकारले निर्वाचन आयोग ऐनका केही दफा संशोधन गर्दै सार्वजनिक खरिद ऐनअनुसार निर्वाचन सामग्री ल्याउनु पर्ने व्यवस्था गर्न खोजिएको छ। सार्वजनिक खरिद ऐनको प्रक्रिया अपनाएर सामग्री ल्याउनु परे उपनिर्वाचन अझै ६ महिना ढिलो हुन सक्ने आयोगका पदाधिकारी बताउँछन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा २ संशोधन गरी सरकारले प्रतिनिधिसभाबाट विधेयक पारित गरेको हो। राष्ट्रियसभाबाट पारित हुन बाँकी छ।

विधेयकमा जिससको प्रमुख÷उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै कुनै कारणले रिक्त भए बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्शमा सरकारले उपनिर्वाचन गराउने व्यवस्था छ। तर एक वर्षभन्दा थोरै पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नहुने व्यवस्था छ।

वडाध्यक्ष रिक्त हुँदा वडाका कामकाजै तथा निर्णय प्रक्रियासमेत प्रभावित भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भनाइ छ। सिनियर वडा सदस्यलाई निमित्त दिँदा कामकाजमा धेरथोर असर परिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले बताए। साबिक गाविस अहिले वडामा परिणत भएको र वडाध्यक्ष कार्यकारी भएकाले स्थानीय सरकार प्रभावकारी सञ्चालनका लागि उपनिर्वाचन अत्यावश्यक रहेको उनले बताएको खवर अन्नपुर्णमा छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वडा सदस्यको भूमिका स्पष्ट छैन। ‘गाउँसभा र नगरसभा पूर्ण भइसकेकाले वडा सदस्य रिक्त हुँदा कामकाजमा खासै असर पर्दैन’, सहसचिव भट्टराईले भने। संघीय मामिलाले पटक–पटक ताकेता गर्दा हालसम्म ३१ जिल्लाबाट रिक्त जनप्रतिनिधिको विवरण प्राप्त गरेको जनाएको छ। सोही विवरणका आधारमा उपनिर्वाचन गराउन आयोगमा पत्राचार गर्ने मन्त्रालयको भनाइ छ। सरकारले रिक्त स्थानमा निर्वाचन गर्न पत्राचारसहित मिति घोषणा गरेपछि मात्रै निर्वाचनको तयारी अघि बढाउने आयोगको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्