कोरोना संक्रमित व्यक्तिलाई लैजाने विषयमा रौतहटमा झडप, १२ राउण्ड हवाई फायर



रौतहट : रौतहटको इशनाथ नगरपालिकामा प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबीच विवाद भएको छ । कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा लैजानका लागि पुगेका प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्ने खोजेपछि विवाद भएको हो ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजनले विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको हो ।

तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहिँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएकोे हो ।

आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । सो क्रममा प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्