विदेश अध्ययन गर्न जाने बढे



काठमाडौं: पछिल्ला दुई वर्ष अवधिमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या एक लाख नाघेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको दैनिक भीड लाग्ने गरेको छ। एनओसी शाखाका अधिकृत बमशेर राईका अनुसार अचेल दैनिक तीन सय हाराहारीमा विद्यार्थीले एनओसी लेटर लिने गरेका छन्।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९–०७० मा कुल १६ हजार ५ सय ४ विद्यार्थीले एनओसी लिएका थिए भने यो संख्या ०७०–०७१ मा वृद्धि भएर २८ हजार १ सय २६ पुग्यो। यसैगरी ०७१–०७२ मा सो संख्यामा वृद्धि भई ३० हजार ६ सय ९६ पुग्यो। आर्थिक वर्ष ०७२–०७३ मा आइपुग्दा एनओसी लिन जाने विद्यार्थीको संख्या ३२ हजार ४ सय ८९ पुगेको थियो। आव ०७३–०७४ मा ५० हजार ६ सय ५९ जनाले एनओसी लिएका थिए। त्यसपछि एनओसी लिनेको संख्या तीव्र बढेको अधिकृत राई बताउँछन्। २०७४ वैशाख २ देखि ०७५ माघ २९ सम्म एक लाख १२ हजार ९ सय ५९ विद्यार्थीले एनओसी लिएका छन्। एनओसी शाखाका अनुसार ७७ देशका लागि एनओसी जारी भएको छ।

 २०७४ वैशाख २ देखि ०७५ माघ २९ सम्म एक लाख १२ हजार ९ सय ५९ विद्यार्थीले विभिन्न मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्।

‘म २०६६ सालतिर यही शाखामा थिएँ। त्यतिखेर दिनको १३–१४ जना विद्यार्थीमात्र एनओसी लिन आउँथे,’ अधिकृत राईले भने, ‘अहिले दैनिक तीन सय हाराहारीमा विद्यार्थी आइरहेका छन्। यस वर्ष त झन्डै एक लाख नाघिसक्यो।’

एनओसी लिन आएकी मेनुका मानन्धरले यसै वर्ष बिएसस्सी नर्सिङ पूरा गरेकी छिन्। उनी स्नातकोत्तर तहमा नर्सिङ अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा छिन्। अस्ट्रेलियाको एक विश्वविद्यालयमा उनले २५ प्रतिशत छात्रवृत्ति पनि पाएकीले अध्ययन सहज बन्ने उनको विश्वास छ। ‘अस्ट्रेलियामा प्राप्त गरेको शैक्षिक डिग्री विश्वबजारमै बिक्ने र पढाइका साथै काम पनि गर्न पाइने हुँदा त्यता जाने योजना बनाएकी हुँ,’ उनले भनिन्, ‘नेपालमा एक त शैक्षिक थिति राम्रो छैन अर्कोतर्फ अध्ययनपछि अवसर पनि नहुने भएकाले दिक्क लाग्छ।’

एनओसी शाखाका अधिकृत राईका अनुसार सबैभन्दा बढी एनओसी अस्ट्रेलियाको लागि जारी भएको छ। यस वर्ष कुल एक लाख १२ हजार नौ सय ५९ मध्ये ६५ हजार चार सय ८७ ले अस्ट्रेलियाका लागि एनओसी लिएका छन्। त्यसपछि जापान जान चाहने छन्। जापान अध्ययनका लागि एनओसी लिनेको संख्या १६ हजार तीन सय ३० रहेको छ भने तेस्रो मुलुक अमेरिका हो। अमेरिका अध्ययनका लागि तीन हजार सात सय ९८ रहेको खवर नागरिकमा छ । 

यसैगरी चीनका लागि तीन हजार तीन सय ४७, क्यानाडाका लागि दुई हजार दुई सय ६९ र न्युजिल्यान्डका लागि एक हजार छ सय ४२ विद्यार्थीले एनओसी लिएका छन्। तर यस अवधिमा बेलायत अध्ययनका लागि एनओसी लिनेको संख्या चार सय १८ छ। नेपाली विद्यार्थी होटेल व्यवस्थापन, आइटी, नर्सिङ, इन्जिनियरिङ, मेडिसिन, व्यवस्थापन, एमबिएलगाएतका विषय अध्ययन अस्ट्रेलिया, अमेरिका, जापानलगायतका देश जाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्