कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै



सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (शुक्रवार) सार्वजनिक गर्दैछ ।

प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । दिउँसो तीन बजे बस्ने संसद बैठकमा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले शुक्रबारको बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत मात्रै प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षमा महोत्वकांक्षी योजना ल्याए पनि आगामी वर्षका लागि भने कोरोना नियन्त्रणसँगै शिक्षा र कृषिलाई रोजगारीसँग जोड्ने खालका नीति तथा कार्यक्रम समावेश गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

मुख्य गरी रोजगारीका लागि भारत तथा तेस्रोमुलुक गएका हजारौं नागरिक गाउँ फर्किएकाले उनीहरुलाई गाउँमा उत्पादनसँग जोडेर रोजगारीमा वृद्धि गर्ने खालका योजना प्राथमिकतामा राखिएको एक मन्त्रीले जानकारी दिए ।

यस्तै प्रदेश योजना आयोगले पनि नयाँ नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकता दिन सुझाव दिएको थियो । कोरोना नियन्त्रण र कृषि उत्पादन बढाउने खालका योजनाहरु नीति तथा कार्यक्रममा समावेश हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्