अपांगता भएका व्यक्तिले गोडाले बन्दूक तेर्स्याएर गरे डकैती (भिडियो)



काठमाडाैं : ब्राजिलमा रहेको एक गहना पसलमा अनौठो डकैतीको घटना भिडियोमा कैद भएको छ ।

अपांगता भएका अनि ह्वीलचेयरमा बस्ने एक व्यक्तिले पसलेलाई गोडाले बन्दूक देखाएर धम्क्याएका छन् । ती व्यक्तिलाई पछि पक्राउ गरिएको थियो ।

कानेला शहरमा सोमवार यो घटना भएको हो । सीसीटीभी क्यामरामा देखिएअनुसार, ह्वीलचेयरमा रहेका अनि मास्क लगाएका एक व्यक्ति गहना पसल छिर्छन् ।

ती १९ वर्षीय आरोपितले पसलेलाई एउटा चिर्कटो थमाएर शान्त भई पैसा दिन आग्रह गर्छन् । तर यो मजाक भएको जस्तो लागेर पसलेले अपांग अपराधीलाई बेवास्ता गर्छन् ।

ती डकैत बोल्न नसक्ने पनि हुन्छन् । पसलेले ध्यान नदिएपछि उनी बन्दूक निकाल्छन् । उनको हातले काम नगर्ने भएकाले उनी पसलेलाई गोडाले बन्दूक तेर्स्याउँछन् ।

उनको डकैती प्रयास विफल भएपछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो । प्रहरीले उनको बन्दूक बरामद गर्दा त्यो प्लास्टिकको खेलौना बन्दूक भएको पत्ता लाग्यो । अनि उनले ह्वीलचेयरमा ठूलो चक्कु पनि लुकाएका रहेछन् ।

पक्राउ गरेलगत्तै प्रहरीले उनलाई रिहा गर्‍यो किनकि उनको अवस्था देख्दा उनी भाग्ने सम्भावना देखिएन । डकैतीको प्रयास गरेकोमा उनीमाथि अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्