जटही बोर्डरमा मृत्यु भएका युवकको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ



जनकपुरधामः भारतबाट फर्केर धनुषाको जटही बोर्डरमा आएपश्चात मृत्यु भएका युवकको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा न-९ का ३० वर्षीय विरेन्द्र यादवको भोकका कारण जटही बोर्डरमा बुधबार बिहान करिव साढे सातबजे मृत्यु भएको थियो ।

भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा मुरही खाएको र मंगलबार साँझ जटही नाकामा आएपश्चात राति नाकाबाट भित्र छिर्न दिइएको थिएन । सो युवकको बुधबार बिहान जटही नाकामै मृत्यु भएको थियो ।

मृतक यादव अहमदावादमा होटलमा कुकको काम गर्दै आएका थिए । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर उनको मृृत्यु भएपछि त्यसको आक्रोशमा सयौँको संख्यामा नाकामा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारावाजी समेत गरेका थिए ।

युवकको मृत्यु भएपछि कोरोना परिक्षण गर्न जटही नाकाबाट उनको शव नेपाली सेनाले प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपछि स्वाबको नमूना लिइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले युवकको शव परिवारजनलाई बुझाइसकेको छ ।

यसैबिच,भोकका कारण बुधवार बिहान धनुषाको जटही नाकामा मृत्यु भएका युवकको परिवारलाई किरिया खर्च वापत शहिदनगर नगरपालिकाले १ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाको बैठकले भोकका कारण ज्यान गुमाएका सोही नगरपालिकाका ३० बर्षिय युवक विरेन्द्र यादवको परिवारलाई एक लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरिएको नगरप्रमुख उदय कुमार बरबरियाले बताए ।

बैठकले पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि प्रदेश र केन्द्र सरकारलाई समेत आग्रह गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्