दिवा खाजा विस्तार सकारात्मक, माविसम्म निः शुल्क चुनौतीपूर्ण



काठमाडौंः आर्थिक वर्ष २०७७-७८ का लागि सरकारले ल्याएको बजेटमा दिवा खाजा र छात्रवृत्तिको विस्तार कार्यक्रम सकारात्मक भए पनि माध्यमिक तहसम्म गुणस्तरीय निः शुल्क शिक्षा चुनौतीपूर्ण देखिएको छ ।

बजेटमा सामुदायिक विद्यलयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न हाल ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रमलाई देशभर विस्तार गर्ने गरी ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ ।

यस कार्यक्रमबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् । यो कार्यक्रमलाई कक्षा ८ सम्मका बालकालिकामा विस्तार गर्न पनि सुझाव आएको छ ।

यसैगरी छात्रवृत्ति कार्यक्रमलाई एकीकृत गरी मुलुकभर २६ लाख बालबालिका लाभान्वित हुने गरी २ अर्ब ७० करोड विनियोजन भएको छ । गत वर्षदेखि शुरु भएको छात्रालाई स्थानीय तहमार्फत सशर्त अनुदानका रुपमा निः शुल्क सेनेटरी प्याड उपलब्ध गराउन १ अर्ब ८२ करोड वित्तीय हस्तान्तरण गरिनेछ ।

बजेट वक्तव्यमा सामाजिक न्यायसहितको समृद्ध नेपाल र मानवीय पुँजी निर्माणका लागि गुणस्तरीय जीवनोपयोगी शिक्षाको सुनिश्चितता गरिने जनाउँदै सार्वजनिक शिक्षाको भौतिक पूर्वाधार विकासका लागि गत वर्ष शुरु गरिएको राष्ट्रपति शिक्षा सुधार कार्यक्रम र सोअन्तर्गत सार्वजनिक विद्यालय सवलीकरण दशक कार्यक्रमलाई गति दिइने उल्लेख छ ।

यी कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरिएको छ । सो मन्त्रालयका लागि गत चालु वर्षभन्दा करिब ८ अर्ब वृद्धि गरी १ खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षका लागि १ खर्ब ६३ अर्ब ७६ करोड विनियोजन गरिएको थियो । प्रतिशतका हिसाबमा चालु आवमा शिक्षामा कूल बजेटको १०.६८ विनियोजन भएकामा आगामी आवका लागि ११.६४ हुने देखिएको छ । विद्यालय पुनः निर्माणको बजेटसमेत जोड्दा आगामी आवका लागि झण्डै एक प्रतिशत थप हुने अनुमान छ ।

संघीय संसदका सांसद् तथा शिक्षाविद्ले दिवा खाजाको विस्तार र एकीकृत छात्रवृत्ति तथा सार्वजनिक विद्यालय सवलीकरण कार्यक्रम सकारात्मक भए पनि माध्यमिक तहसम्मको निः शुल्क शिक्षाका लागि कागजी प्रतिबद्धताका साथै आवश्यक स्रोत साधन र तत्परता आवश्यक भएको औँल्याएका छन् ।

नेपाली काँग्रेसका नेता गगन थापाले देशभरका विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा र सबै तहका छात्रवृत्तिको एकीकृत गरी वितरणका सवालहरु सकारात्मक रहेको तर बजेट कम देखिएकाले माविसम्म निः शुल्क असम्भव देखिएको बताए ।

संसदमा बजेट प्रस्तुत भएको भोलिपल्ट आज शिक्षा पत्रकार समुहले आयोजना गरेको भर्चुअल संवादमा उनले भने,“कोरोना महामारीका कारण शिक्षा क्षेत्रलाई शिक्षक व्यवस्थापन, विद्यालय नक्सांकन आदिका लागि पुनः संरचना गर्न यो उपयुक्त अवसर हो तर सरकारले त्यस रुपमा बजेट र कार्यक्रम ल्याउन सकेन ।”

शिक्षा मन्त्रालय सहसचिव कृष्णप्रसाद काप्रीले चालु आवमा कुल बजेटको १०.६८ रहेकामा सामान्य वृद्धि भएर आगामी आवका लागि ११.६४ प्रतिशत हुनु खुशीको विषय भएको र अर्थमन्त्रालयको सीमाका कारण अपेक्षाहरु सबै पुरा हुने स्थिति नहुने बताए ।

उनले कक्षा ५ सम्मका सबै बालबालिकालाई निः शुल्क दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थी ल्याउन, टिकाउन र गुणस्तीय शिक्षा दिन तथा पहुँच र गुणस्तर वृद्धि गर्ने जनाए । आगामी बजेटमा शिक्षा क्षेत्रमा एक खर्ब ७१ अर्ब ७१ करोडको बजेट विनियोजन गरिएको छ ।

शिक्षाविद डा.सशन आचार्यले सरकारले अनौपचारिक शिक्षामा जोडदिनुपर्ने र सुशासनका सवाललाई गहनरुपमा लिनुपर्ने बताए । अर्का शिक्षाविद डा.विनय कुसियतले बजेट परम्परागत भए पनि दिवा खाजाको विस्तार हुनु सकारात्मक हो भन्दै स्वयंसेवक शिक्षकको प्रबन्ध जस्ता कार्यक्रमलाई राजनीतिकरण नगरी संस्थागत प्रणालीका रुपमा ल्याउन सकिने उचित हुने टिप्पणी गरे ।

रिष्ठ पत्रकार राजेन्द्र दाहालले दिवा खाजा कार्यक्रमका लागि स्थानीय उत्पादन र रोजगारी सिर्जना हुने गरी प्रोत्साहन गर्न सक्नुपर्ने सुझाव दिए । बजेटमा सामाजिक उत्तरदायित्वअन्तर्गत एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको भौतिक पुर्वाधार र सामग्रीसहित सुधारको जिम्मेवारी बहन लिनुपर्ने विषय समावेश भएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट देखिएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) ले आज विज्ञप्ति जारी गरी सरकारले एकपक्षीय?पमा उक्त कार्यक्रम ल्याएको जनाएको छ । सो संस्थाका अध्यक्ष ऋतुराज सापकोटा र महासचिव स’वास न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा कोरोना महामारीपछि निजी विद्यालय संकटमा परेका बेला कुनै राहत नदिए थप जिम्मेवारी जोगीको घरमा सन्यासी सावित भएको टिप्पणी गरिएको छ ।

माध्यमिक तहको निजी विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधारसहित शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी बहन गर्नुपर्ने बजेटमा उल्लेख छ । हाल कूल ३५ हजार विद्यालयमध्ये करिब साढे ६ हजार निजी विद्यालय सञ्चालित छन् । रासस

प्रतिक्रिया दिनुहोस्