जो नाच्छ ऊ धेरै बाँच्छ



काठमाडौं: सामान्यतया नृत्य मनोरञ्जनका लागि गरिने एक कला हो । पौराणिककालमा पनि देवी–देवताले नृत्य गर्ने गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । नृत्यले आधुनिक युगमा अझ व्यापकता हासिल गरेको छ । नृत्यलाई विषय नै बनाएर पढाउने गरिएको छ । आजभोलि स्कुल, कलेजसँगै राजनीतिक र सामाजिक कार्यक्रममा समेत नृत्य अनिवार्यजस्तै भइसकेको छ । त्यसैले त, विशेषगरी सहरी क्षेत्रमा नृत्य सिकाउने ठाउँ प्रशस्तै पाइन्छन् ।

नृत्यका विभिन्न किसिम हुन्छन् । जसमा, जुम्बा, एरोबिक, चर्या (नेपाली शास्त्रीय), कथ्थक, भरत नाट्यम (भारतीय शास्त्रीय) आदि । खाली कला र मनोरञ्नका लागि नभएर नाच्नु स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायी मानिन्छ । यसले शारीरिक फिटनेसका साथै मानसिक रूपमा स्वस्थ रहनसमेत मद्दत पु-याउँछ । त्यसो त स्वस्थजीवनका लागि नृत्यको उपयोगिताबारे उखान नै छ, ‘जो नाच्छ, ऊ धेरै बाँच्छ ।’

नृत्य गर्दाका फाइदा फिटनेस

दैनिक करिब १ घन्टा पसिना निकालेर नाच्दा विभिन्न रोगबाट समेत टाढा रहन सकिन्छ । नाच्दा सयदेखि चार सयसम्म क्यालोरी घट्ने भएकाले तौल व्यवस्थापन गर्न सजिलो हुन्छ । बिहानको समयमा नृत्य गर्दा वा सिक्दा झन् प्रभावकारी हुन्छ । किनकि, यो समयमा पूर्ण व्यायाम हुन्छ । नियमित नृत्य गरेमा शारीरिक रूपमा फिट रहन सकिन्छ । साथै, रक्तसञ्चार राम्ररी भई शरीरको समग्र वृद्धि–विकासमा समेत मद्दत पुग्छ ।

 मुड फ्रेस

नृत्यले शरीरमा सकारात्मक ऊर्जा पैदा गर्छ । एक्लोपना, डर, चिन्ता र डिप्रेसनजस्ता समस्याबाट टाढा रहन सकिन्छ । विशेषगरी, संगीतअनुसार नृत्य गर्दा मन शान्त रहने र मस्तिष्कलाई क्रियाशील बनाउने विज्ञहरूको तर्क छ । 

 तनाव व्यवस्थापन

नृत्य गरेरै तनावबाट राहत महसुस गर्न सकिन्छ । खासगरी, कामकाजी मानिसले साँझतिरको समय नृत्य गर्न उचित हुन्छ । साँझको नृत्यले दैनिक कामका कारणले हुने तनाव हटाउन र शान्त महसुस गर्न मद्दत पु¥याउनुका साथै शरीरमा स्फूर्तिसमेत महसुस गराउँछ ।

  

 आत्मविश्वास

नाच्दा आत्मविश्वास बढ्छ । शरीरमा छुट्टै किसिकको ऊर्जा आउने भएकाले हिच्किचाहटसमेत दूर हुन्छ । 

 ग्याजेटमोह भंग 

आजभोलि प्रत्येक मानिसले मोबाइल, कम्प्युटर, टिभीमा अत्यधिक समय बिताउने गरेको पाइन्छ । यस्तो निष्क्रिय जीवनशैलीले विशेषगरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । बालबालिकालाई ग्याजेट चलाउन कम गराउन, पढाइको बोझ कम गर्न र फ्री महसुस गराउन नृत्य सिकाउन आवश्यक छ । यसले बालबालिकाको स्मरणशक्तिसमेत बढाउँछ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्