दीपिकालाई आफ्नो बनाउन यस्तो गरेका थिए रणवीरले



एजेन्सी : रणवीर सिंह र दीपिका पादुकोणको जोडी बलिउडमा नै उदाहरणीय जोडीको रुपमा लिइन्छ । यो जोडीलाई निकै मन पराइन्छ । वास्तविक जीवनमा मात्र होइन फिल्मी दुनियाँमा पनि यो जोडीको केमिस्ट्री निकै रुचाइएको छ ।

सामाजिक सञ्जालमा सक्रिय दीपिका र रणवीर लकडाउनमा होम क्वारेन्टाइनका विभिन्न गतिविधिहरुको बारेमा सेयर गरिरहेका हुन्छन् । उनीहरुलाई सामाजिक सञ्जालमा निकै खोजी पनि गर्ने गरिन्छ ।

यसैबीच, रणवीरले चर्चित फुटबल खेलाडी सुनील छेत्रीको इन्स्टामा लाइभ गरेका छन् । उनले उक्त लाइभको क्रममा दीपिकासँगको प्रेमसम्बन्धको सुरुवाती दिनहरुको बारेमा केही खुलासा गरेका छन् ।

रणवीरले पुराना दिनहरुलाई सम्झँदै दीपिकाका लागि फूल किन्नमा धेरै खर्च गरेको बताए । सुरुवाती दिनहरुमा उनी दीपिकाका लागि निकै फूलहरु किन्ने गर्थे । रणवीरले दीपिकालाई लिली फूल निकै मन पर्ने भएकाले उनी जहिल्यै दीपिकालाई भेट्न जाँदा लिली फूल लिएर गएको समेत उल्लेख गरे ।

रणवीरले फूल किन्ने गरेको कुरा उनका पितालाई पनि थाहा थियो । उनले पिताले सोधेको प्रश्न याद गर्दै भने, ‘तिमीलाई थाहा छ ? तिमी कति धेरै पैसा फूलमा खर्च गरिरहेका छौँ ?’ पिताको यस्तो प्रश्नमा उनले दिएको जवाफ यस्तो थियो, ‘पापा, तपाईं चिन्ता नगर्नुस् । लक्ष्मीको अवतारमा अकुत सम्पत्ति आउँदैछ ।’

विवाहपछि रणवीर सिंहले थुप्रैपटक दीपिकासँगको अफेयरका बारेमा खुलासा गर्दै आएका छन् । यो जोडी एक अर्कामा निकै समर्पित भएको पनि देखाउँछन् ।

प्रतिक्रिया दिनुहोस्