कांग्रेस नेता बाँस्तोलाको अन्त्येष्टि



काठमाडौँ : कांग्रेस नेता चक्र बाँस्तोलाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । ६ वर्ष अघिदेखि मस्तिष्कघातबाट पीडित बाँस्तोलाको शनिबार निधन भएको थियो । उनको पार्थिव शरीरमा भाइका छोरा नवीन बाँस्तोलाले दागबत्ती दिएका थिए । 

 

बाँस्तोलाका दुई छोरी सुम्निमा र गरिमा छन् । दुवै छोरी पहिली श्रीमती मधुबाट जन्मिएका हुन् । मधुको निधनपछि बाँस्तोलाले आसामकी कुसुमसँग दोस्रो विवाह गरेका थिए । कुसुमतर्फ भने छोराछोरी छैनन् । अर्धचेत रहेका बेला बाँस्तोलाको स्याहारसुसार कुसुमले नै गर्दै आएकी थिइन् ।

 

 कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खडकासहित नेता–कार्यकर्ता र शुभेच्छुक पशुपति आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा आइतबार राति नै बाँस्तोलाको अस्तु लिएर गृह जिल्ला झापा गएका छन् । उनको अस्तु सोमबार त्यहीँ सेलाउने कार्यक्रम छ ।

 

कांग्रेसले बाँस्तोलाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झन्डा आधा झुकाउने, पार्टीका सबै कार्यक्रम स्थगित गर्ने पार्टी केन्द्रीय कार्यसमिति आकस्मिक बैठकको निर्णय छ । असोज २९ सम्म पार्टीका कार्यालय बन्द रहने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औं दिन केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने तयारी छ ।

 

कांग्रेसले विज्ञप्तिमार्फत पार्टी संगठन सुदृढ एवं गतिशील बनाउन बाँस्तोलाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरेको छ । कांग्रेसको तरुण संगठन प्रजातान्त्रिक समाजवादी युवा लिग गठनदेखि हरेक लोकतान्त्रिक आन्दोलन र संघर्षमा बाँस्तोलाको अग्रणी भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

‘प्रजातन्त्र पुन:स्थापनामा नेतृत्वदायी भूमिका खेल्नु भई जेल जीवन र लामो समय प्रवासमा व्यतीत गर्नुभएका नेता बाँस्तोलाको कांग्रेस नेतृत्वमा तत्कालीन सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच १२ बुँदे समझदारी निर्माण गर्ने पृष्ठभूमि तयार गर्न महत्त्वपूर्ण भूमिका थियो,’ कांग्रेसले उल्लेख गरेको छ ।

 

बाँस्तोलाको निधनबाट बौद्धिक, निष्कलंक र क्रान्तिकारी नेता गुमेको जनाउँदै कांग्रेसले भनेको छ, ‘कठिन घडीमा पनि अदम्य साहस प्रदर्शन गर्न सक्ने अनुकरणीय र साहसी नेताका रूपमा उहाँ हाम्रो स्मृतिमा रहिरहनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्